भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको मूल संगठन राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन भागवतले हिन्दू मुस्लिम विषयमा अनेकौं टिप्पणी गरेका छन् ।
आइतवार एक पुस्तक विमोचनका क्रममा बोल्दै उनले हिन्दू मुस्लिम एकताका कुरा भ्रामक भएको किनकि यी बेग्लाबेग्लै नभई एकै भएको बताए । सबै भारतीयहरूको डीएनए एउटै छ र तिनीहरूको धर्मले केही फरक पार्दैन, उनले बताए । विगत ४० हजार वर्षदेखि सबै भारतीयहरू एकै पूर्वजको सन्तान भएको उनको भनाइ छ ।
भारतमा इस्लाम खतरामा रहेको कुरा भ्रम भएको पनि उनले बताए । देशमा एकता नभई विकास सम्भव नरहेको उनको भनाइ छ । हिन्दू मुस्लिम संघर्षको एक मात्र समाधान संवाद भएको उनले बताए । मुसलमानलाई भारतमा बस्न नदिने कुरा कुनै हिन्दूले भन्छ भने त्यो वास्तविक हिन्दू नभएको उनको कथन छ ।
मुसलमानहरूलाई भीडले मार्ने घटना हिन्दूत्वको विरोधी भएको टिप्पणी पनि उनले गरे ।
भारत एक लोकतन्त्र भएको र यसमा हिन्दू वा मुसलमानको प्रभुत्व भन्दा पनि भारतीयहरूको प्रभुत्व रहनुपर्ने भागवतको भनाइ छ ।
उत्तर प्रदेशमा मुसलमानहरूको ठूलो संख्या रहेको र त्यहाँ सन् २०२२ मा विधानसभा निर्वाचन हुन लागेको बेलामा भागवतले अर्थपूर्ण टिप्पणी गरेको बताइएको छ ।