लमजुङ–तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीशहर–लमजुङ खण्ड कालोपत्र तथा सडक स्तोरोन्ति सम्पन्न भएको छ । यस सडकखण्डतर्फ लमजुङको पाउँदीबजारबाट बेँसीशहरसम्मको १८ किलोमिटर सडकमा आवश्यक कालोपत्र र सडक स्तोरोन्तिको काम सम्पन्न भएको हो ।
लमजुङतर्फको यस सडकको विभिन्न स्थानमा जीर्ण हुँदै गएपछि यसको कालोपत्र ओभर गरिएको र हाल सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका इञ्जीनियर सुरज महर्जनले बताए । उनले भने, “असुरक्षित सडकका कारण सवारी दुर्घटनासमेत बढे पनि अबदेखि भने सडक दुर्घटना न्यूनीकरणमा टेवा पुगेको छ । सडकको कालोपत्र रहेको ठाउँमाथि कालोपत्र हालिएको छ भने, नभएको ठाउँमा खाडल पुरेर त्यसमाथि कालोपत्र गरिएको छ ।”
डुम्रे–बेँसीशहर सडक आव २०५४/५५ मा कालोपत्र भएको थियो । सोपश्चात एकपटक पनि स्तरोन्नति र मर्मतसम्भार हुन नसक्दा जीर्ण बन्दै गएको यस सडकको कालोपत्र भएसँगै स्थानीयवासीदेखि सवारी चालक र यात्रुसमेत हर्षित भएका छन् । सडक राम्रो भएपछि सकारात्मक सन्देश जाने र लमजुङ पर्यटकीय जिल्लासमेत रहेकाले यहाँ आउने पर्यटक लोभिने पर्यटन व्यवसायीको भनाइ छ । यस सडक हुँदै हिमाली जिल्ला जाने पर्यटक तथा चक्रीय अन्नपूर्ण पदमार्ग जाने देश तथा विदेशका पर्यटकको आगमन हुने गर्दछ ।
विसं २०७७ वैशाखसम्म सक्नुपर्ने भए पनि सोही समयमा सम्पन्न हुन सकेन । हाल केही दिनअघि मात्र यस सडक सम्पन्न भएको सडक योजनाका इञ्जीनियर महर्जनले बताए । यस सडक हाल एक लेनको रहेको छ । डुम्रे–बेँसीशहर सडक ४२ किलोमिटरको रहेको छ । गत वर्ष रु २३ करोड बजेट विनियोजित गरेकामा यस वर्ष रु ६० करोड बजेट सरकारले विनियोजन गरेको छ । यस सडक टु लेनको बनाउने कामसमेत अघि बढेको र यस वर्ष परेको बजेटले पुल निर्माण, सडक टुलेनकोलगायत काम हुने सडक डिभिजन कार्यालय दमौली तनहुँका प्रमुख अमित श्रेष्ठले बताए ।