१२ असार २०८३, शुक्रबार

काठमाडौं महानगरका मिर्गौला रोगीले निःशुल्क हेमोडायलाइसिस सेवा पाउने

काठमाडौं महानगरका मिर्गौला रोगीले निःशुल्क हेमोडायलाइसिस सेवा पाउने

नेपाली सेनाद्वारा सञ्चालित काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौं महानगरवासी मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलाइसिस सेवा सुरु भएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले निःशुल्क हेमोडायलाइसिस सेवाको आइतवार संयुक्त रुपमा शुभारम्भ गरे । 

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौलाका सेरो नेगेटिभ बिरामीका लागि निःशुल्क हेमोडायलाइसिस सेवा सुरु भएको हो । 

महानगर प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसँग सहकार्य गरेको बताए । 

मिर्गौलासम्बन्धी रोग लाग्नुभन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रमअन्र्तगत ३२ वटै वडामा प्रारम्भिक परीक्षण सेवा सुरु भइसकेको बताए । 

महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, आठवटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई तीन करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ । 

यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच पाँच वर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो ।

सम्झौताअनुसार जडान गरिएका आठवटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना बिरामीलाई साताको दुई पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डा. अरुण शर्माले बताए । 

यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज–५ पुगिसकेकाहरूका लागि मात्रै हो । यो सेवा लिन बिरामीले महानगरपालिकाको सिफारिस लिनुपर्ने हुन्छ । 

अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४९८ वटा डायलाइसिस मेसिनबाट तीन  हजार ५१६ जना विपन्न वर्गका बिरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्यांक छ । 

निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रतिबिरामी वार्षिक दुई लाख ६० हजार रूपैयाँ खर्च व्यहोरिरहेको छ । 

नेपालमा हरेक वर्ष दुई हजार ६०० जना मिर्गौलाका नयाँ बिरामी थपिइरहेको सरकारी तथ्यांक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्