
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने सम्भावनाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ९ वटै जिल्लामा बालमैत्री कोभिड शय्या थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले पहाडका प्रत्येक जिल्ला अस्पतालमा १० शय्या र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० शय्याको बालमैत्री शय्या थप गर्न लागेको जानकारी दिए ।
‘तेस्रो भेरियन्टमा बालबालिका संक्रमणको जोखिममा पर्नसक्ने भएकाले सोहीको पूर्व तयारीमा जुटेका छौं,’ प्रवक्ता कार्कीले भने, ‘अन्य संरचना निर्माण र जनशक्ति थप गर्न पनि लागिएको छ ।’
उनले डडेल्धुराबाहेक ६ पहाडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको काम अघि बढेको जानकारी दिए । ‘सबै अस्पतालमा हामीले ८० लाखका दरले रकम अक्सिजन प्लान्टका लागि पठाइसकेका छौं,’ उनले भने, ‘डडेल्धुरा, कञ्चनपुर र कैलालीमा संघीय सरकारबाट प्लान्ट स्थापना गर्न सहयोग हुने भनिएको छ ।’
उनले धनगढीमा दातृ निकायको सहयोगमा पनि प्लान्ट निर्माण हुने बताइएको जानकारी दिए । ‘पहाडतिर अहिले प्लान्ट निर्माण बोलपत्र प्रक्रियामा गएर सम्झौताको चरणमा छ,’ कार्कीले भने, ‘लकडाउनका कारण सामान सप्लाइ हुन सकेको छैन ।’