
आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सरकार असफल भएको छ ।
शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले गत आवमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको जानकारी दिए ।
सरकारले गत आवमा शुरूमा १४ खर्ब ७४ अर्ब र पछि संशोधन गर्दै १२ खर्ब ६६ अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो । यद्यपि संशोधित लक्ष्य पनि पूरा गर्न नसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
कूल खर्चअन्तर्गत शुरूमा ९ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च गर्ने सरकारको लक्ष्य रहे पनि आर्थिक वर्ष पूरा हुँदासम्म ८ खर्ब ५१ अर्ब मात्रै खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालू खर्च संशोधन गर्दै पछि ८ खर्ब ६७ अर्ब रुपैयाँ चालू खर्चको लक्ष्य तोकेको थियो ।
संशोधित लक्ष्य पनि पूरा हुन नसकेको हो । पुँजीगतमा पनि शुरूमा ३ खर्ब ५२ अर्ब र पछि संशोधन गर्दै २ खर्ब ५१ अर्ब खर्च गर्ने लक्ष्य राखिएकामा २ खर्ब २८ अर्ब रुपैयाँ मात्र खर्च भएको देखिन्छ ।
वित्तीय खर्चको अवस्था झन् कमजोर रहेको छ । सरकारले आर्थिक वर्ष सम्पन्न हुँदासम्म १ खर्ब रुपैयाँ मात्र वित्तीय खर्च गर्न सफल भएको छ । जब कि बजेटमार्फत १ खर्ब ७२ अर्ब रुपैयाँ वित्तीय खर्च हुने सरकारको लक्ष्य थियो ।
मध्यावधि समीक्षामार्फत वित्तीय खर्चको आकार घटाएर १ खर्ब ४५ अर्ब रुपैयाँ पुर्याइएको थियो ।
खर्चजस्तै राजस्व संकलनमा पनि सरकार असफल देखिएको छ । गत आवमा कूल १० खर्ब ११ अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । संशोधन गरेर पछि ९ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिए पनि बिहीवारसम्म ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ । संकलित कूल राजस्वमध्ये ८ खर्ब ७० अर्ब कर राजस्व र ६८ अर्ब गैरकर राजस्व रहेको मन्त्रालयले जनाएको छ । अन्यतर्फ सरकारले ४० अर्ब रुपैयाँ संकलन गरेको छ ।
वैदेशिक सहायतातर्फ १ खर्ब ३९ अर्ब ऋण, १७ अर्ब ६१ करोड अनुदान र सिधा भुक्तानीबापत ५ अर्ब १ करोड रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
गत आवमा सरकारले २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बजेटमार्फत २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने सरकारको योजना थियो । गोरखापत्र दैनिकमा खबर छ ।