
नेपाल प्रहरीले ३० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका २ व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १५/१५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौं टोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको फैसलापछि क्रमशः ७ दिन र ५ दिन कैद सजाय र बिगोबमोजिम १५ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका डङ्गोल र महर्जनलाई सोमवार टोखा र कलंकीबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका डङ्गोलले नेपाल इन्भेस्टमेन्ट बैंक र महर्जनले माछापुच्छ«े बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले डङ्गोल र महर्जनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सोमवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।