
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय २२ सांसदहरूको भेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा बस्ने तय भएको छ ।
वरिष्ठ नेता नेपालले सबै सांसदहरूलाई अपरान्ह ४ बजे अर्याल होटलमा बोलाएको सांसद कल्याणी खड्काले जानकारी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका सबै सांसद भेलामा सहभागी हुने बताइएको छ ।
एमाले विवाद समाधानका लागि माधव नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरू भने आजको भेलामा सहभागी नहुने बताइएको छ ।
भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको विश्वासको मत पछिको परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल हुने सांसदहरूले बताएका छन् ।
आजै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटेर सरकार विस्तार र सञ्चालनबारे छलफल गरेकाले नेपालले सांसदहरूबाट यस विषयमा पनि राय लिने बुझिएको छ ।
नेपाल समूहलाई सरकारमा ६ वटा मन्त्रालय दिने प्रस्ताव गरिएको छ । देउवा नेतृत्वको सरकारमा सहभागिताको विषयमा पनि आजको भेलामा छलफल हुन सक्ने सांसदहरूले बताएका छन् ।
पार्टीको विवाद मिल्ने दिशातिर गएमा भने सरकारमा सहभागी हुन नहुने कतिपय सांसदहरूको मत छ ।