२९ असार २०८३, सोमबार

मधेश आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता गरेकाले देउवालाई विश्वासको मत : महन्थ ठाकुर

मधेश आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता गरेकाले देउवालाई विश्वासको मत : महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले मधेश आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता जनाएका कारण विश्वासको मत दिएको बताएका छन् । 

मधेश आन्दोलनका मुद्दाहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेकोले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जसपाले विज्ञप्ति जारी गरेर बताएको छ । 

ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गते सम्म बसेको जसपाको कार्यकारिणी बैठकले गरेको ८ बुँदे निर्णय समेत विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । 

संविधान संशोधन, नेता तथा कार्यकर्ताहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्याको समाधान, स्थानीय तहको जनसंख्याको अनुपातमा पुनर्संरचना, संविधानमा शिल्पी, खसको पहिचान कायम गर्ने लगायतका समस्याहरू समाधान गर्ने कुरामा प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएकोले  जसपाले विश्वासको मत दिएको कुरा विज्ञप्तिमा उल्लेख छ । 

यसअघिको पूर्ववर्ती सरकारले मधेश आन्दोलनका माग मुद्दा समाधानका लागि गरिएको सकारात्मक पहल स्वरूप केही झुटा मुद्दाहरू फिर्ता, नगारिकतासम्बन्धी अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठनलगायतका कार्य गरेकोमा निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई बैठकले धन्यवाद दिने समेत निर्णय गरेको छ । 

कोरोना महामारीबाट बच्न सबैलाई नि:शुल्क अनिवार्य खोपको व्यवस्था गर्न तथा गरीबी रेखामुनि रहेका नागरिकको लागि आर्थिक राहतको प्याकेज अविलम्ब घोषणा गर्न जसपाले माग गरेको छ । 

वर्षाका कारण पहिरो, डुबानमा परेका हजारौं विस्थापित परिवारहरूलाई राहत तथा क्षतिपूर्ति दिँदै घरवारविहीन बनेका परिवारजनको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । 

किसानलाई तत्काल बीउबिजन, मलखाद यथेष्ट मात्रामा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

यस्तै नेपाल-भारत सिमाना भई आवतजावत सहजताका लागि आवश्यक प्रवन्ध गर्न सरकारसँग माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्