
पार्टीको निर्णयविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका २२ सांसदको विषयमा नेकपा एमालेले आज निर्णय गर्ने बताएको छ ।
साउन ४ गतेबाट शुरू भएको एमाले केन्द्रीय कमिटीको १० औं बैठकको पहिलो दिन नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर, स्पष्टीकरण भने ढिला गरी बुधवार मात्रै सोधिएको थियो ।
फरक बेहोरा उल्लेख गरेर पठाइएको स्पष्टीकरणमा भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिइएको विषय एमालेले उल्लेख गरेको छैन ।
पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाएको, स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलाप सञ्चालन गरे/गराएको आदि आरोप ती सांसदहरुलाई लगाइएको छ ।
त्यसैगरी, पार्टी कमिटीको गोपनियता भंग गरे/गराएको, विपक्षीसँग साँठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था तथा पार्टीको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्य निरन्तर गरिरहेकाले किन कारवाही नगर्ने भन्ने लगायतका विषय उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।
यद्यपि सांसदहरूले भने पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । विश्वासको मतको विषयमा पार्टीले स्पष्टीकरण सोध्न नमिल्ने र कारवाही गरेमा कानूनी उपचार खोज्ने ती सांसदहरूको भनाइ छ ।
एमालेको केन्द्रीय कमिटीको बैठकमा आजको एजेन्डामा स्पष्टीकरणको विषयलाई पनि उल्लेख गरिएको छ ।
एमाले नेता एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा उक्त एजेण्डामा छलफल गरेर निर्णयमा पुगिने बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ बैठक समापन गर्ने क्रममा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘म यो अन्तिम क्षणमा साथीहरूलाई भन्छु, पार्टी एकतामा आउनुहोस् । नत्र भोलि पुष्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ, र उचित निर्णय गर्छ ।’
आज एक बजे तुलसीलाल स्मृति प्रतिष्ठानमै पुष्पलाल स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको छ ।
त्यसलगत्तै एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।