
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकारसमक्ष आग्रह गरेका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडि बढाउनका निम्ति सरकारसमक्ष आग्रह गरे ।
उनले भने, ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडि बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडि बढ्न पनि सकेको छैन । यसले प्रदेश सरकारहरूले काम अगाडि बढाउन सकेका छैनन् । प्रदेश लोक सेवा आयोगले पनि काम अगाडि बढाउन सकेको छैन । म सरकारको ध्यानाकृष्ट गर्न चाहन्छु, यो विधेयक तुरुन्त अगाडि बढाइयोस् ।’
राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले कोभिड र पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपाङ्ग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘केही दिनयता संक्रमण बढ्दै जाँदा चिन्ताको विषय बनेको छ । बन्दाबन्दी केही खुकुलो भएपछि बजार र सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन् । भीडभाड बढ्दै गएको छ । मास्क लगाउने हेलचक्र्याइँ गरिँदैछ । सार्वजनिक सवारीसाधनमा स्यानिटाइजरको व्यवस्था भएको पाइँदैन, सार्वजनिक दूरीको त कुरै छोडौं । विद्यार्थी, अपाङ्ग र ज्येष्ठ नागरिकले यातायातमा पाउने छुट बन्द गरिएको छ । पेट्रोलियम पद्धार्थ र कोभिडको कारण देखाएर नागरिकको अधिकार कुनैपनि हालतमा हनन् गर्न हुँदैन यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’
उनले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएका कारण चिन्ता थपिएको पनि बताइन् । सार्वजनिक यातायात सञ्चालन भएसँगै भीडभाड बढेको र मास्क नलगाई हेलचक्र्याइँ गरिएको भन्दै उनले सार्वजनिक सवारीसाधनमा स्यानिटाइजरको व्यवस्था नभएको पनि उल्लेख गरे ।