२२ जेठ २०८३, शुक्रबार

रुपन्देहीमा तीन दिनमा पाँच फरार अभियुक्त पक्राउ

रुपन्देहीमा तीन दिनमा पाँच फरार अभियुक्त पक्राउ

रुपन्देही प्रहरीले विभिन्न आपराधिक घटनाका फरार अभियुुक्तलाई पक्राउ गरेको छ । 

विभिन्न कसूरमा लामो समयदेखि फरार रहेका पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । 

फरक–फरक मुद्दामा १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएका उनीहरूलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

थापाका अनुसार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तीन दिनका बीचमा उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा रुपन्देही जिल्ला अदालतको २०६७ असार ९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएपछि फरार रहेका बुटवल उपमहानगरपालिका–४ का ५८ वर्षीय पूर्णबहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु–१४ बाट पक्राउ गरिएको हो । 

२०७७ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र १२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पर्वत कार्कीनेटा–६ घर भई रुपन्देही बुटवल–८ बस्ने अशोककुमार शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२०७६ फागुन १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र १४ लाख जरिवाना तोकिएपछि फरार भएका तिलोत्तमा–५ रुपन्देहीका ४२ वर्षीय एकनारायण अर्याल र २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ३६ लाख जरिवाना तोकिएपछि फरार रहेका बुटवल १३ रुपन्देहीका ४६ वर्षीय शिवकुमार राणालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यस्तै २०६७ माघ ४ गतेको फैसलाले लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएका फरार अभियुक्त बुटवल–१३ का विशन रानालाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी थापाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्