०२ साउन २०८३, शनिबार

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव, भदौ १६ को मिति भने नसर्ने

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव, भदौ १६ को मिति भने नसर्ने

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक शनिवार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो ।

बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको तर, निर्णयमा नपुगिसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठकमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आगामी साउन १२ गतेबाट कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका लागू गर्नुपर्ने तर, अहिले असम्भव जस्तो देखिएकाले त्यस विषयमा के गर्ने भन्ने बारेमा शनिवारको बैठकमा निर्णय हुने शर्माले बताए ।

‘कार्यतालिकामा सामान्य हेरफेरको प्रस्ताव आएको छ । आजको बैठकमा निर्णय भएको छैन । भोलि बिहान फेरि बैठक बसेर निर्णयमा पुग्छौं,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने । 

महाधिवेशन भदौ १६ मा नै हुने गरी संशोधित कार्यतालिका ल्याउन बैठकमा सभापतिले निर्देशन दिएको शर्माले जानकारी दिए । ‘१४ औं महाधिवेशन भदौ १६ बाट पछाडि जान सक्दैन । 

तोकिएको मितिमा महाधिवेशन गर्नका लागि के कसरी कार्यतालिका मिलाउन सकिन्छ छलफल गरेर प्रस्ताव ल्याउन सभापतिले भन्नुभएको छ,’ शर्माले भने । 

महाधिवेशनको मिति नजिकिएको भए पनि कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन ।

आजको बैठकमा समितिका संयोजक रमेश लेखकले साउन १० गतेसम्ममा प्रतिवेदन दिन सक्ने बताएका थिए । 

यस्तै सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न दबाब स्वरुप अनशन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्