
जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए ।
यस्तो छ चाैधरीले पत्रकारहरूलाई दिएको प्रतिक्रिया:
म पार्टीको बफादार सिपाही हो । इमान्दार कार्यकर्ता हो । म जनता समाजवादी पार्टीबाट सदस्य भएर निर्वाचन लडेको हुँ । त्यसैअनुसार कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित पनि भएँ । म तीन वटा कुरा तपाईंहरूसामु भनेर जान चाहन्छु । एउटा कुरा मेरो दुई वटा अध्यक्षपट्टीलाई र विशेषतः जो साथीले म विजय प्राप्त गरेको छु भनेर भन्नु भएको छ, त्यो वर्गलाई पनि मेरो एउटा सुझाव छ–महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाईं लड्न बाध्य भए । युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो । युद्ध हुन्जेलसम्म अर्जुनले हानेको वाणले भिष्मपितामह लड्नुभयो र युद्ध हुन्जेलसम्म हरेक दिन अर्जुन युद्ध सकिए पछाडि पनि भिष्मपितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो– मैले तपाईंलाई वाण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईंलाई वाण हान्नुपर्यो क्षमापाउँ भिष्मपितामह’ भनेर भन्नुहुन्थ्यो ।
मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरूमा अत्यन्त श्रद्धेय लाग्छ महन्थ ठाकुर उहाँ हाम्रोलाई अत्यन्त आदर्श र सम्मानको पात्र हुनुहुन्छ । कसैले एक पक्षले बाजी मार्ला कसैले हार्ला तर, जिन्दगीभर कमाएको निष्ठाको लागि म महन्थ ठाकुरप्रति भीष्मपितामहको एउटा दर्जा कायम गरिदिनुहुन र गएर मैले के गर्नुपर्छ मैले जितिनँ, हामी मिल्नुपर्छ, हामी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ ।
आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष जसपा हो विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ । आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला । अर्को कुरा
कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाउँ भन्दै हजुर सयौं पटक झुके पनि
निरीह ठान्दा रहेछन् शिर निहुराएपछि
दोषी ठहर्याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन
अर्को तीन वटा प्वाइन्ट, एक न्याय, दुई न्याय, तीन न्याय