
प्रतिनिधिसभा सांसद इन्दुकुमारी शर्माले नागरिकता नपाउँदा लाखौं मानिस संविधानले प्रदान गरेको मौलिक हकबाट वञ्चित भएको भन्दै नागरिकता सम्बन्धी ऐन सर्वसम्मत् रूपले पास गराउन सरकार र सदनको ध्यानाकर्षण गराएकी छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको सवाल संसदमा सुनुवाइ नभएकोमा गुनासो गरिन् ।
उनले भनिन्, ‘लाखौं नेपाली नागरिकता नपाउँदा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मौलिक हकबाट वञ्चित भई राज्यविहीन भई पीडादायी जीवन बाँच्न बाध्य भएका छन् । आफूलाई अनुकूल र सत्ता टिकाइराख्न संसद छलेर चलिरहेको संसद विघटन गरी भोलिपल्ट नै अध्यादेशमार्फत् नागरिकता ऐन ल्याउन सक्ने सरकारले हामी सांसदले ३ वर्षदेखि बारम्बार संसदमा नागरिकता ऐन पारित गर्न आवाज उठाउँदा किन सुनुवाइ गरेन म प्रश्न गर्न चाहन्छु । आमजनताको भाग्य र भविष्यसँग खेलवाड गर्न बन्द गरियोस् र राज्य व्यवस्था समितिले २०७७ साल असार ९ गते यो सम्मानित सदनमा पेश गरेको नागरिकता ऐन छिटोभन्दा छिटो सर्वसहमतिले पारित गरियोस् भन्ने सरकार र सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’