अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारत भ्रमण गर्दा विश्वका दुई ठूला लोकतन्त्रबीच सम्बन्ध घनीभूत भएको संकेत दिएको छ ।
भ्रमणमा ब्लिन्केनले दलाई लामाका प्रतिनिधिलाई भेटेर वाशिङटन तिब्बतका विषयमा खुलेर बोल्न थालेको देखाएका छन् ।
ब्लिन्केनले भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बुधजार गरेको भेटघाटमा अफगानिस्तानमा तालिबानको पकडका विषयमा व्यापक चर्चा भयो । त्यसबाहेक चीनले विश्वको पहिलो शक्ति बन्नका लागि देखाइरहेको आक्रामकताको पनि चर्चा गरिएको छ ।
ब्लिन्केनले दलाई लामाका प्रतिनिधि न्गोदुप दोङचुङलाई नयाँ दिल्लीमा रहेको एक होटेलमा भेटेर अमेरिका निर्वासित तिब्बती समुदाय तथा उनीहरूको बौद्ध नेतृत्वका विषयमा मौन नरहने संकेत दिएका छन् ।
बाइडन प्रशासनले नयाँ दिल्लीलाई प्रमुख रक्षा साझेदार मान्दै उच्चस्तरीय रक्षा तथा अन्य प्रविधि उपलब्ध गराएर दुई देशबीचको सम्बन्ध बलियो रहेको जनाउ दिएको छ । दुई देशका परराष्ट्रमन्त्रीले साझा चिन्ताका विषयमा खुलेर टिपोट आदानप्रदान गरेर द्विपक्षीय सम्बन्धमा विश्वासको वातावरण निर्माण भएको देखाएका छन् ।
खोप उत्पादन तथा उत्थानशील विश्वव्यापी आपूर्ति शृंखलाका लागि हातेमालो गरेर भारत र अमेरिकाले सहकार्यलाई जोड दिएका छन् । अक्टोबर महिनामा वाशिङटनमा आयोजना गरिने क्वाड शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गएपछि यी पहलहरू थप बलियो बन्नेछन् ।