काठमाडौं २८ जेठ– असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहमति जुटाउने प्रयास स्वरुप सत्तारुढ दल र मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीबीच छलफल शुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा राजपालाई चुनावमा सहभागि गराउन दलहरुले प्रयास गर्ने बताएका छन् ।

संविधान संशोधन विधेयक पारित गर्नुपर्ने मागलाई ‘बटम लाइन’ बनाएको राजपाले असार १४ को मिति पनि सार्न प्रस्ताव गरेको छ । सत्तारुढ दलहरुले भने अन्तिम तयारी भइसकेको निर्वाचन कुनैपनि हालतमा रोक्न नसकिने बताउँदै आएका छन् ।
शनिवार भएको छलफलमा राजपाले चुनावमा नजाने संकेत गरेपछि सत्तारुढ दलले आइतवार निर्णायक छलफल गर्ने बताएका थिए । सरकारसंग सहमति नभए दोस्रो चरणको निर्वाचन प्रभावित गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने राजपाले चेतावनी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि संविधान संशोधन पारित गराउने आश्वासन दिएपनि राजपाले उधारो आश्वासनले नपुग्ने बताउदै आएको छ । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लेले संशोधन पारित नभए मोर्चा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
मधेस केन्द्रित संघीय समाजवादी पार्टी र फोरम लोकतान्त्रिकले भने चुनावमा सहभागिता जनाउने बताएका छन् । स्थानीय तहको दोस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयनका लागि पाँच दिनमात्र बाँकी छ ।