

दार्जिलिङका नेपाली भाषीमाथि भैरहेको अत्याचारप्रति ध्यानाकर्षण।
नेपालको सम्विधानले तराईका मधेशी समुदायलाई विभेद गरेको आरोपमा नेपालको सङ्क्रमणकालको सफलव्यबस्थापन हुन दिइएको छैन । सम्विधान घोषणा हुन तीन दिन बाँकी रहँदा त्यसलाई रोक्ने उद्देश्यसहित भारतीय प्रधानमन्त्रीका विशेष दूतलाई काठमाण्डौं पठाइएको बिषय कुटनीतिक जगतमा अनौठो घटनाका रुपमा लिइएको छ ।
एक स्वतन्त्र देशले आफ्नो देशको सम्विधानका धाराहरु आफैं कोर्छ र घोषणा पनि आफैंगर्छ । तर, शक्तिको घमण्ड देखाउँदै छिमेकी देशले सो देशमाथि दबाब सृजना गर्न नाकाबन्दी लगाइदिन्छ । हामीले आफ्नो देशको सम्विधान बनाउँदा हाम्रा छिमेकीले नाकाबन्दी कसरी गर्न मिल्छ भनि आवाज उठाउँदादोषमुक्त देखिनलाई केही मानिसहरुलाई सीमामा उभ्याउने काम गरिन्छ र उनीहरुको लागि सीमापारी मेस सञ्चालन गरिन्छ । २०७२ भदौ ७ मा कैलालीमा घरेलु हतियार सहित सुरक्षाकर्मीहरुलाई घेराउ गर्ने जमातलाई कुनैपनि असर नपुर्याउन सुरक्षा निकायलाई निर्देशन जारी गरिन्छ ।
दुई बर्षीय नाबालकलाई गोली हानेर हत्या गर्ने, एकजनालाइ जिउँदै जलाउने र सातजना सुरक्षाकर्मीलाई खुँडा भालाले रोपेर प्राण लिने जमातको सम्मानार्थ उनीहरुविरुध्दका मुद्दा फिर्ता लिन दबाब दिइन्छ । सुरक्षाकर्मीलाई खेतका गराहरुमा लखेटी-लखेटी मारिन्छ।
ती क्रुर, जघन्य अपराधीहरुलाई पुरष्कृत गर्ने काम गरिन्छ । नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषा घोषणा गर्न/गराउन अनेक चोरबाटोहरु प्रयोग गर्ने चेष्टा जारी नै छ । नेपालको तराईमा परम्परादेखि बोलिने मैथिली, भोजपुरी, अवधी भाषालाइ बिस्तारै विस्थापित गर्ने षडयन्त्रमूलक योजनाका साथ हिन्दी भाषाको लागि मरिहत्ते गरेको अब छर्लङ्ग भैसकेको छ। हिंसात्मक प्रदर्शनमा लागेकाहरुको मानवाधिकारको पक्षमा परिचालित मानिसहरु मानवाधिकारवादीको आवरणमा परिचालित हुने नेपालमा मात्र हो ।
मधेशी समुदायलाई सम्विधानले विभेद गरेको भ्रमपूर्ण खेती गरेर नेपालको सङ्क्रमणकाललाई लम्ब्याउने र नेपालमा नियन्त्रित अस्थिरता सृजना गर्दै आएको यथार्थ जगजाहेरै छ । तरभारतको दार्जिलिङ्गमा त्यहाँका नेपाली भाषीहरुको भाषा र संस्कृतीमाथि दमन गर्न पश्चिम बङ्गालको राज्य सरकारले पूरै नेपालीभाषीको बस्तीमा बङ्गाली भाषालाई अनिवार्य गर्दछ ।
यसो गर्नु भनेको परम्पराकालदेखित्यहाँका जनताले अभ्यास गर्दै आएको नेपाली भाषा र संस्कृतीको विघटन र समापन गर्ने आधार तयार गर्नु हो । निश्चय नै भाषा, संस्कृती, परम्परा र भेषभुषाले उक्त समुदायको राष्ट्रियतालाई प्रतिबिम्बित गर्दछ । एकातिर दार्जिलिङ्गमा नेपालीभाषी भारतीय नागरिकहरुको राष्ट्रियतालाई समाप्त पार्न अभियान शुरु गर्ने,अर्कातिर नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषा घोषणा गर्न/गराउन अनेक बितण्डा मच्चिनु संयोग मात्र कसरी होला भन्ने प्रश्न सीमा वारपार समुदाय (Transborder Community) को लागि गम्भिर बिषय बन्न पुगेको छ ।
टीकापुरबाट शुरु भएर तराईमा तराईमा हात-हतियार, लाठीसहितको दैनन्दिन जुलुस आम भैरह्यो। नेपालमा घरेलु हतियारसहित निस्केर सुरक्षाकर्मीहरुको कत्लेआम गर्न र निर्दोष नागरिकको हत्या,हिंसा गर्न छुट हुने तर दार्जिलिङ्गमा नितान्त शान्तिपुर्ण र शालिन तरिकाले आफ्नो भाषा र संस्कृतीको रक्षा गर्न सडकमा निस्केका पूरै निहत्था नागरिकहरुको लागि सेना परिचालन गर्ने ?
दार्जिलिङ्गमा सेना खटाइएको घटनाबाट पुष्टि हुन्छ कि पश्चिम बङ्गालले दार्जिलिङ्गवासीहरुलाई आत्मैदेखि आफ्नो नागरिक स्वीकार गरेको छैन। किनकि, सेना कि त चरम आन्तरिक द्वन्द, सशस्त्र संघर्ष र गृहयुध्द भैरहेको बेलामाआन्तरिक खतराबाट राष्ट्रलाई बचाउन खटाइन्छ किभने बाह्य आक्रमणबाट देशलाई बचाउँन सेना परिचालन गरिन्छ । दार्जिलिङ्गमा यी दुवै अवस्था होइन ।
हरेक देश र त्यो देशको राज्य सरकारले आफ्ना नागरिक र अन्य देशका नागरिकहरुको मानवाधिकारको मूल्य समान हुन्छ भन्ने हेक्का राख्नैपर्दछ । मानवाधिकार कमजोर देश र त्यहाँका नागरिकहरुको मानवीय सम्वेदना, भाषा र संस्कृतीलाई समाप्त पार्ने हतियार बन्नुहुँदैन । मानवाधिकारले राष्ट्रियता र नागरिकता चिन्दैन, उनीहरुको मानवीय मूल्य, मानवीय गरिमा र स्वतन्त्रता मात्र चिन्दछ । यसले नागरिकको नाम र थर चिन्दैन, मानिसहरुको नसामा बग्ने रगत मात्र चिन्नुपर्ने हो ।
दार्जिलिङ्गमा खटाइएका सेनाहरुका बख्तरबन्द गाडीहरुले दार्जिलिङ्गवासीहरुको मानवाधिकारको धज्जी उडाइरहेको छ। यी बिषयलाइ समयमै ख्याल गरी उनिहरुको मानवाधिकारको सम्मान गर्न र आपसी वार्ताद्वारा समस्या समाधान गर्नेतर्फ पहल गरिदिनका लागि आवाज उठाउन र दबाब सृजना गर्न हामी नेपाल सरकार, राजनीतिक पार्टीका शीर्ष नेताहरु,पत्रकार र प्रवुध्द वर्गसँग हार्दिक अपील गर्दछौं।
१ आनन्दराम पौडेल \ लेखक, विश्लेषक
२ हिरण्यलाल श्रेष्ठ \ अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिविज्ञ
३ डा.द्वारिकानाथ ढुंगेल \ पूर्वसचिव, नागरिक अभियन्ता
४ रतन भण्डारी \ सीमा र जलश्रोतका रिसर्च-स्कलर
५ डा.युवराज सङ्ग्रौला । कानुनविद, राष्ट्रियता स्कलर
६ साध्यबहादुर भण्डारी \ राष्ट्रवादी अभियन्ता
७ भरत दाहाल \ विश्लेषक, राष्ट्रवादी अभियन्ता
८ हरि चन्द “अग्नीपुञ्ज” \ अन्तर्राष्ट्रिय सम्वन्धका विज्ञ
९ रत्नसंसार श्रेष्ठ \ जलश्रोतविद
१० डा.भूवप्रसाद त्रिपाठी \ प्रोफेसर
११ पुण्य गौतम ‘विश्वास’ \ अन्तर्रष्ट्रिय मामलाका विश्लेषक
१२ प्रेम कैदी \ वरिष्ठ पत्रकार, राष्ट्रवादी अभियन्ता।
१३ ध्रुवहरि अधिकारी \ वरिष्ठ पत्रकार
१४ कमल कोइराला \ वरिष्ठ स्तम्भलेखक
१५ डा.विष्णुराज उप्रेती \ द्वन्द विशेषज्ञ
१६ डा.नीलमकुमार शर्मा \ प्रोफेसर
१७ रामप्रसाद श्रेष्ठ \ कानुनविद, प्राध्यापक
१८ डा.अतीन्द्र दाहाल \ प्राध्यापक
१९ डा.रामप्रसाद उप्रेती \ चिकित्सक, प्राध्यापक
२० डा. विनोद न्यौपाने \ राज्यसंरचनाविद
मितिः २०७४. ०२. २८