२२ असार २०८३, सोमबार

माधव नेपाल पक्षको सहभागिताबारे अन्तिम टुंगो नलागेसम्म जसपा सरकारमा नजाने

साउन १५, २०७८
माधव नेपाल पक्षको सहभागिताबारे अन्तिम टुंगो नलागेसम्म जसपा सरकारमा नजाने
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा जाने कि नजाने भन्ने अन्तिम टुंगो लागेपछि मात्र सरकारमा सामेल हुने भएको छ ।

सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भइसके पनि गठबन्धन घटक जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक आग्रह गरिसकेको भए पनि यादव सरकारमा तत्काल गइहाल्ने मनस्थितिमा छैनन्।

जसपाका प्रचार–प्रसार प्रमुख डम्बर खतिवडाका अनुसार जसपा अध्यक्ष यादवले सरकारमा सहभागिताका लागि केही शर्तहरू राखेका छन्।

'माधवकुमार नेपाल पक्ष सरकारमा आउने वा नआउने भन्ने विषयको पहिले टुंगो पहिले लाग्नुपर्‍यो,' यादवले राखेको शर्त उद्धृत गर्दै खतिवडाले लोकान्तरसँग भने, 'यदि उहाँहरू आउने हो भने अन्य तीन घटकले पाउने जत्तिकै मन्त्रालय हामीले पनि पाउनुपर्छ।'

यदि नेपाल पक्ष सरकारमा नआउने हो भने कांग्रेस र माओवादीले पाउने संख्या बराबर नै जसपाले पनि मन्त्रालय पाउनुपर्ने जसपाको अडान रहेको उनले बताए ।

ती सबै कुराको टुंगो लागेपछि कुन-कुन मन्त्रालय कसलाई दिने समेत टुंगो लागेको अवस्थामा मात्र जसपाले कसको नेतृत्वमा सरकारमा पठाउने, कुन–कुन सांसदलाई सरकारमा पठाउने विषयमा निर्णय गर्ने उनले बताए।

त्यसबाहेक सरकारमा सहभागी हुने दलहरूबीच साझा कार्यक्रमका विषयमा समेत सहमति हुनुपर्ने जसपाको माग छ।

भोलि संसदीय दलको नेता चयन हुँदै

भोलि जसपाले संसदीय दलको नेता चयन गर्दैछ। जसपाको तीन दिनसम्म बसेको कार्यकारिणी समितिको बैठकबाट संसदीय दलको विधानलाई अनुमोदन गर्दै निर्वाचन समिति तोकिएको थियो ।

त्यही निर्वाचन समितिले भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन गराउने कार्यक्रम तय भएको खतिवडाले बताए।

कुल ३४ जना सांसद रहेको जसपामा २ जना सांसद निलम्बित छन्।

३२ जना सांसदमध्ये केही सांसद महन्थ ठाकुर पक्षमा समेत लागेको हुनाले पार्टीको पक्षमा कति जना सांसद हुने भन्ने कुरा भोलि निर्वाचनमा मात्र थाहा हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्