२८ असार २०८३, आइतबार

पुरानो संसद् भवनलाई संग्रहालय बनाउने योजना छ : सभामुख सापकोटा

साउन १८, २०७८
पुरानो संसद् भवनलाई संग्रहालय बनाउने योजना छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई संग्रहालय बनाउने योजना रहेको बताएका छन् ।

विक्रम संवत् २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्त्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताए ।

‘संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौं,’ अवलोकनपछि उनले भने, ‘संग्रहालयसँगै यसलाई पुस्तकालयका रूपमा समेत विकास गर्नुपर्छ ।’

संग्रहालय र पुस्तकालय एकअर्कासँग सम्बन्धित विषय भएकाले यसबारे आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने बताउँदै उनले पुरानो संसद् भवनबारे विभिन्न किसिमका सुझाव प्राप्त भएको र ती सबै विषयमा छलफल गरी ठोस निर्णय गरिने उल्लेख गरे ।

‘सम्बद्ध पक्षसँग आजैदेखि छलफल चलाउँछु, पूरै पुनर्निर्माण गर्ने कि जीर्णोद्धार मात्र गर्ने भन्नेबारे चाँडै निर्णय गरिने छ,’ सभामुख सापकोटाले भने । 

राजधानीको मुटुमा रहेका ऐतिहासिक भवन भएकाले त्यसको अधिकतम सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । सो अवसरमा उनलाई संसद् सचिवालयका कर्मचारीले सो भवनको अवस्थाबारे जानकारी गराएका थिए ।

२ वर्षअघि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवनलाई भत्काएर ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसयता सो भवनबारे सरकारले कुनै कदम चाल्न सकेको छैन ।

सभामुख सापकोटोको सोमवारको अवलोकन भ्रमणपछि सो जीर्ण भवनबारे ठोस कदम चालिने विश्वास गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्