३० असार २०८३, मंगलबार

कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउने तयारी, हितमान शाक्यलाई राजीनामा गर्न ऊर्जामन्त्रीको आग्रह

कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउने तयारी, हितमान शाक्यलाई राजीनामा गर्न ऊर्जामन्त्रीको आग्रह
फाइल तस्वीर।

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीको आग्रहअनुसार मन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई राजीनामा गर्न आग्रह गरेको ऊर्जा मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो । शाक्यले भने कुनै जवाफ दिएका छैनन् ।

नेपालबाट लोडसेडिङ अन्त्यका लागि भूमिका खेलेका कुलमानलाई ल्याउँदा सकारात्मक सन्देश जाने सरकार पक्षको विश्लेषण छ । राजीनामा नगरे स्पष्टीकरण सोधेर भए पनि शाक्यलाई हटाउने तयारी रहेको मन्त्रालय स्रोतले बतायो । 

चारवर्षे कार्यकाल सकिएपछि कुलमान २०७७ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकबाट बाहिरिएका थिए । त्यसलगत्तै तत्कालीन सरकारले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएको थियो । 

२०७७ माघ २६ गते सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्राधिकरणमा कुलमानलाई ल्याउन मन्त्री भुसाललाई सुझाव दिएका स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्