प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरूले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् ।
बैठकको विशेष समयमा उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।
नेपाली कांग्रेसका दिलेन्द्र बडूले भने, ‘पूर्व प्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दार्चुला घटनाबारे राजनीतिक ढाकछोपभन्दा पनि निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’
साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भएको दुर्घटनामा स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् ।
नेकपा एमालेका डा. सूर्यप्रसाद पाठकले दार्चुला घटनाबारे नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्न नसकेको भन्दै दुःख व्यक्त गर्दै घटनाबारे निष्पक्ष छानबिनको माग गरे ।
नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्न सरकार, राजनीतिक पार्टी र नेतालाई अनुरोध गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामबाबुकुमार यादवले नागरिकता विधेयक कहाँ पुग्यो भनी प्रश्न गरे ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले आव २०७८/०८९ ले गरीब, मजदुर र किसानलाई समेट्न नसकेको बताए । एमालेका विन्दा पाण्डेले दार्चुला जिल्ला घटनाबारे सत्यतथ्य छानबिन गरी यथाशीघ्र संसद्मा जानकारी गराउन माग गरिन् ।
नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे छानबिनको माग गरे । नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले राजनीतिक दलका नेताहरू जनताको समस्याभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए ।
जसपाकी लिलादेवी सिटौलाले कोरोना खोप वितरणमा असमानता भएकाले समानरूपमा वितरण हुनुपर्ने बताइन् । एमालेका शेरबहादुर तामाङले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइप्रति संसद्को ध्यानाकर्षण गराए । उनले सिन्धुपाल्चोक जिल्लामा भएको बाढी पहिरोले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका प्रमिला राईले ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोपको व्यवस्था गर्न माग गरे । एमालेकी गंगा चौधरी सत्गौवाले राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिइन् ।
एमालेकी पवित्रा निरौलाले देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा र बलात्कारका घटना अन्त्यका लागि प्रभावकारी रूपमा काम गर्न सरकारसँग माग गरिन् ।