
पार्टी विवाद उत्कर्षमा पुगेका बेला भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
काठमाडौंको नयाँ बानेश्वर, बृद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा जारी बैठकमा नेपाल पक्षका ७० जना केन्द्रीय सदस्यको सहभागिता रहेको नेता नेपालको सचिवालयले जनाएको छ ।
बैठकमा एमाले सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित छैनन् । १५ जना केन्द्रीय सदस्यहरूले लिखित सुझाव पठाएको एक केन्द्रीय सदस्यले बताए ।
केन्द्रीय सदस्यहरूको सुझावका आधारमा केपी ओलीसँग सहमति गर्ने या कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुगिने नेताहरूले बताएका छन् ।
आजको बैठकलाई संस्थापन पक्षले अनाधिकृत भन्दै सहभागी नहुन आग्रह गरेको थियो ।
केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले १० बुँदे सहमतिको आधारमा पार्टी एकता हुनुपर्ने बताए ।
‘आजको बैठक पार्टी एकतालाई थप बल दिनको लागि बोलाइएको हो, बाहिर हल्ला गरिएजस्तो विभाजनको लागि होइन,’ पाण्डेले भने ।