प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरू पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ ।
समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको स्रोत सुनिश्चितताको आवश्यक व्यवस्थापन मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई समितिले निर्देशन दिएको बताए ।
उनले भने, ‘समितिले सम्पन्न हुन बाँकी रहेका पुनर्निर्माणका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनको कार्य तत्काल अगाडि बढाउन यो समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण गरिएका संरचनाको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको स्रोत सुनिश्चिततातर्फ सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ । यसको आवश्यक व्यवस्थापन मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिन्छ ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले १ हजार १९७ वटा स्वास्थ्य संस्थामध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताए । चालू आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उनले बताए ।
सरकारी एवं सुरक्षा निकायका भवनमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको उनले बताए । सुरक्षा निकायका २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ ।
पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ । पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको उनले बताए ।
सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । शिक्षण संस्थाहरूको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ ।