
सत्तारुढ गठबन्धनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन पहल गर्ने भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिलाउन पहल गर्ने प्रस्ताव गरेको हो ।
कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई शुक्रवार बुझाएको छ । ‘विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको अधिकार दिलाउन पहल गर्ने’ सहमतिको कार्यक्रमको नवौं नम्बर बुँदामा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चाको जोडबलमा यो विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको स्रोतले बतायो । यसअघि सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७५ भदौ १७ गते विदेशमा बस्ने नेपालीलाई मतदानका लागि कानूनी प्रबन्ध गर्न आदेश दिएको थियो ।