
सिन्धुपाल्चोकमा हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ ।
सहकारी संस्थामा चोरी गरेको आरोपमा पक्राउ परेका बाह्रबीसे नगरपालिका–७, घुम्थाङका खड्गबहादुर तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिए ।
‘उहाँको उपचारको क्रममा धुलिखेलमा अस्पतालमा मृत्यु भएको हो । उहाँ चोरीको आरोपमा पक्राउ पर्नु भएको थियो,’ एसपी अधिकारीले भने ।
तर, परिवारले भने प्रहरी हिरासतमा कुटपिट गरेर मृत्यु भएको बताएका छन् । परिवारका अनुसार उनको शरीरमा नीलडाम देखिएकाले कुटपिट भएको दाबी गरेका छन् ।
प्रहरीले उनमा शारीरिक समस्या भएकाले नीलडाम देखिएको बताएको छ ।
‘उहाँमा मादक पदार्थ सेवन गर्ने एडिक्सन रहेछ । हिरासतमा आएदेखि सेवन गर्न नपाएकाले आफ्नै शरीरलाई चोट दिएका कारण नीलडाम भएको हो,’ एसपी अधिकारीले लोकान्तरलाई भने ।
उनलाई प्रहरीले घुम्थाङमा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा चोरी गरेको आरोपमा पक्राउ गरेको थियो । उनलाई साउन १९ गते ५७ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।