०१ साउन २०८३, शुक्रबार

नेपालमा दुई वर्षभित्र ५०० वटा विद्युतीय बस गुडाइने

नेपालमा दुई वर्षभित्र ५०० वटा विद्युतीय बस गुडाइने

नेपालको सडकमा ५०० विद्युतीय बस गुडाइने भएको छ । 

सुन्दर ट्रेडर्स प्रालि र काशिस ई मोबिलिटी प्रालि नयाँदिल्ली भारतका बीच विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको हो । 

रुपन्देहीको बुटवलमा भएको सम्झौताअनुसार काशिसले विद्युतीय सवारीसाधनको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्दर यातायातले सञ्चालनको जिम्मा लिएको छ ।

सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषबहादुर थापा र काशिसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले हस्ताक्षर गरे । 

नेपालमा पहिलोपटक विद्युतीय सार्वजनिक सवारी चलाउने संस्था सुन्दर ट्रेडर्सको भगिनी संस्था सुन्दर यातायात हो, जसले अहिले पनि काठमाडौंमा विद्युतीय सवारीसाधन चलाइरहेको छ ।

नेपालका मुख्य शहरहरूमा विद्युतीय सवारीसाधन चलाउने गरी भएको सम्झौता अनुसार दुई वर्षमा ५०० सवारीसाधन चल्ने छन् । यसका साथै एक वर्षभित्र नेपाली ब्राण्डका विद्युतीय बसहरू बजारमा गुडाइने छ ।

काशिसले जर्मन प्रविधियुक्त युरा बस आपूर्ति गर्नेछ । त्यसरी ल्याइने साधनको भुक्तानी अवधि ८ वर्षको हुनेछ भने सो को ग्यारेन्टी नेपाल सरकार वा वित्तीय संस्थाले गर्नेछन् । सो समयभित्र रहने गरी प्रत्येक महिना किस्ताबापतको रकम भुक्तान हुँदै जाने सम्झौतामा उल्लेख छ ।

सम्झौता भएको ६० दिनभित्र २० वटा बस नेपाल आइपुग्ने छन् । पहिलो पटक ल्याइने बसहरू तयार भएको भए पनि बाँकी ८० वटा बसको चेसिस र थप ४०० सैनामैनामै एसेम्बल भएका बसहरू उपलब्ध गराइने छ । 

उपर्युक्त गाडीहरूलाई चाहिने चार्जिङ पोर्टहरू काशिसले नै उपलब्ध गराउने छ । त्यस्तै जनशक्तिलाई चाहिने तालिम र प्राविधिक सहयोग पनि उसले उपलब्ध गराउने छ ।

सम्झौतामा हस्ताक्षर गर्दै सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले दुई वर्षदेखि निरन्तर लागेपछि दुवै पक्ष एसेम्बल प्लान्ट राख्न सहमत भएको जानकारी गराए ।  कोरोनाका कारण ढिला भए पनि अबको एक वर्षभित्र नेपालबाटै उत्पादन हुने उनले विश्वास व्यक्त गरे । 

एसेम्बल प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकाले अब छिटै टेण्डर प्रक्रियामा जाने थापाको भनाइ छ । 

एसेम्बल प्लान्टमा पहिलो चरणमा तीन अर्ब ६० करोड रूपैयाँ लगानी गरिने छ भने दोस्रो चरणमा दुई अर्ब ४० करोड र पूर्ण रुपमा कम्पनी सञ्चालनमा आउँदा ८ अर्ब ५० करोडदेखि ९ अर्बसम्म लगानी हुनेछ ।

त्यस्तै काशिस ई मोबिलिटी प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले दुई दिनसम्म नेपालका मन्त्री, सचिव तथा स्थानीय सरकारका प्रमुखहरूसँग भेट्दा आफूहरू अत्यन्तै उत्साहित भएको बताए । विद्युतीय सवारीसाधनहरू वातावरणमैत्री हुनुका साथै पेट्रोलियम पदार्थको आयातलाई घटाई आफ्नै देशमा उत्पादित विद्युत्को प्रयोगमा बढोत्तरी हुने उनले विश्वास व्यक्त गरे । 

सुन्दर ट्रेडर्स प्रालिका सञ्चालक डी.आर. घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरणमैत्री विद्युतीय सवारीसाधनहरू निकट भविष्यमै रुपन्देहीलगायत लुम्बिनी प्रदेशका शहरमा देख्न र प्रयोग गर्न सकिने अवस्था आएको बताए ।

सुन्दर ट्रेडर्स प्रालिले यसअघि नै सैनामैना नगरपालिकामा करिब ९ बिघा जग्गा भाडामा लिने सम्झौता गरिसकेको छ । 

परियोजना सञ्चालनमा आएपछि स्थानीय तहमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङमा निःशुल्क उच्च शिक्षा प्रदान गर्न चीनमा पठाइने छ । त्यसबाहेक पनि छोटो अवधिको तालिम प्रदान गरेर जनशक्ति उत्पादन गर्दै लगिने छ । 

सरकारले विद्युतीय गाडीलाई उच्च प्राथमिकता दिने नीति अनुरुप चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिनुका साथै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारीसाधनलाई विस्थापित गर्ने नीति लिएको छ ।

चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा कम्तीमा २० देखि २२ लाख रूपैयाँ सस्तो पर्ने, पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य हुने, पेट्रोलियम पदार्थको आयातमा कमी भई व्यापार घाटामा कमी आउने, वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने र पर्याप्त रोजगारी सिर्जना हुने बताइएको छ । 

यस प्लान्टबाट करीब ३०० जनाले रोजगारीको अवसर पाउनेछन् । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्न लागिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्