०३ असार २०८३, बुधबार

पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सीसीटीभी क्यामेरा जडान

साउन २३, २०७८
पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सीसीटीभी क्यामेरा जडान
प्रतिकात्मक तस्वीर

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सीसीटीभी क्यामेरा जडान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत १ करोड ५१ लाखको लागतमा सीसीटीभी क्यामेरा जडान गरिएका हुन् । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउनका लागि सीसीटीभी क्यामेरा जडान गरिएको हो ।

मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सीसीटीभी क्यामेरा जडान गरिएका छन । जडान गरिएका सीसीटीभी क्यामेरामा पिटिजेड (घुम्ने) ७ वटा र अन्य १२० क्यामेरा जडान गरिएका छन् ।

राजमार्ग क्षेत्रको धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सीसीटीभी क्यामेरा जडानको कार्य गरिएको प्रवक्ता जोशीले बताए । क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ ।

सीसीटीभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेसन राखिएको छ । 

‘क्यामेरा जडानको कार्य पूरा भएको छ,’ मन्त्रालयका प्रवक्ता जोशीले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भइरहेको छ ।’

क्यामेरा जडानपश्चात् परीक्षणको कार्य भइरहेको उनले बताए । सीसीटीभी क्यामेराको सहयोगले मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा एवं अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा कायम गर्नका लागि मद्दत पुर्‍याउने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्