२१ जेठ २०८३, बिहीबार

कर्णाली नदी कटान रोक्न सामूहिक प्रयास

साउन २३, २०७८
कर्णाली नदी कटान रोक्न सामूहिक प्रयास
प्रतिकात्मक तस्वीर

कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र ५ नम्बर वडामा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ ।

नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ ।

तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका  समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिइने भएको छ । 

नदीमा पानीको बहाव बढेपछि यसअघि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ । गत वर्ष निर्माण भएको तटबन्ध अब डेढ मिटरमात्र बाँकी छ । यो तटबन्ध भत्किएमा नदी बस्तीमा पस्ने जोखिम छ । नदी बस्तीमा पसेमा टीकापुरका वडा नम्बर ६, ७, ८ र ९ प्रभावित हुनेछन् ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरू गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।

‘तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौं, सम्भवत आजैबाट तटबन्धको काम शुरू हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छ,’ नगर प्रमुख रावलले भने, ‘समयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ ।’

तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुंगा प्रयोग गरी नदी नियन्त्रणको कार्य समेत भइरहेको छ । चिसापानी र मोहन्याल क्षेत्रबाट ठूला ढुंगा ल्याएर तटबन्ध भइरहेको छ तर ढुंगा पाउन समस्या भएपछि जैविक तटबन्ध समेत गर्ने तयारी गरिएको रावल बताउँछन् ।

‘गत वर्ष रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध यस वर्ष भत्किसकेको छ । नदी कटानले करीब डेढ मिटर मात्र तटबन्ध भत्कन बाँकी छ । नदीले धार परिवर्तन गर्दा अघिल्लो वर्षको तटबन्ध अर्को वर्षसम्म टिक्नै मुस्किल भएको छ,’ उनले भने, ‘यो तटबन्ध यस वर्ष कटान रोक्नका लागि मात्रै हो । अब नियन्त्रणका लागि विकल्प र दीर्घकालीन तटबन्धबारे योजना बनाउन आवश्यक छ ।’

salt training

कमेन्ट गर्नुहोस्