
भारतीय हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापविरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन बाध्य हुने चार राजनीतिक पार्टीले चेतावनी दिएका छन् ।
मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुति संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् ।
‘नेपाल–भारत सीमा क्षेत्रमा भारत सरकार र त्यसको एसएसबीले हाम्रो राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउँदै आएका आपराधिक घटनाहरू भविष्यमा कडाइपूर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्रीज्यूमार्फत भारतीय नरेन्द्र मोदी सरकारसँग माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस प्रकारका घटनाहरु सीमा क्षेत्रमा नेपाल सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारका कारण बारम्बार हुने गरेका छन् । सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रबन्ध, बजार र सुरक्षाको प्रत्याभूति, नागरिकको स्वाभिमान र सम्मानपूर्वक बाँच्ने अवस्थाको सृजना हुने व्यवस्था तुरुन्त गरियोस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।’
यस्तै दार्चुलामा एसएसबीले तुइनको लठ्ठा खोलेका कारण जयसिंह धामी बेपत्ता भएको घटनाको यी चार पार्टीले भ्रर्त्सना पनि गरेका छन् ।
साथै घटनाको शीघ्रताका साथ छानबिन गरी अपराधमा संलग्न एसएसबीमाथि हदैसम्मको कारवाही गर्न भारतीय नरेन्द्र मोदी सरकारसँग प्रभावकारी पहल गर्न, पीडित पक्षलाई न्याय दिलाउन र बेपत्ता जयसिंह धामीका परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवासमक्ष माग गरिएको छ ।