
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले सांसदहरूलाई कपिलवस्तुको रिसोर्टबाट लुम्बिनी सारेको छ ।
बुधवार बस्ने प्रदेशसभा बैठकलाई लक्षित गर सांसदहरूलाई रुपन्देहीको लुम्बिनी क्षेत्रभित्र पर्ने लुम्बिनी गार्डेनमा ल्याइएको छ ।
मंगलवार गठबन्धनले सांसदहरूलाई कपिलवस्तुको वाणगंगास्थित राजापानी रिसोर्टमा राखेको थियो ।
गठबन्धनको सामूहिक बैठक बस्नका लागि कपिलवस्तुबाट सांसदलाई लुम्बिनी ल्याइएको माओवादी केन्द्रमा सांसद सुदर्शन बरालले बताए ।
‘बुटवल बस्दा बस्दै हैरान भयौं । एक दिन कपिलवस्तु बस्यौं । आज लुम्बिनीमा आएका छौं । हाम्रो रणनीति तयार हुँदैछ,’ बरालले लोकान्तरसँग भने ।
विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट ‘हेर्न नभ्याइने’ भएपछि बुधवार अधिवेशन अगाडि बढ्ने देखिएको छ ।
गठबन्धनले आफ्ना सांसद अपहरण हुने डरले सोमवारदेखि एकैठाउँमा राखेको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा लगायतको गठबन्धन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलाएर र माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउन जोडतोडले लागेको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुखले आह्वान गरेको बुधवारको बैठकका लागि माओवादी सांसदहरू रिसोर्ट नै बूक गरेर एकीकृत भएका छन् । गठबन्धनमा ४१ सांसद छन् ।