
कोभिड–१९ तथा संक्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योग र तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा पाउने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २ उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो ।
अहिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पूँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनःकर्जाको दरमा सहुलियत कर्जा पाइरहेका छन् । उक्त उद्योगलाई सोसरह सुविधा दिइएको हो ।
केही दिनअघि मन्त्रिपरिषद्को बैठकले नेपालमा नै कोरोना विरुद्धको खोप उत्पादनको अनुमति दिएसँगै सरकारले छुटको घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशन गरेको हो । कोभिड–१९ लगायत संक्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्ने र लिक्विड अक्सिजन उत्पादन गर्ने उद्योग स्थापनाका लागि आधार दरमा कर्जा, ब्याज पूँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनःकर्जाको दरमा सहुलियतपूर्ण कर्जा तथा कर्जा नवीकरण सुविधा उपलब्ध गराइने छ ।
यी २ प्रकृतिका उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो पाँच वर्षसम्म विद्युत् डिमाण्ड शुल्क छुट हुनेछ । त्यसपछि उद्योग सञ्चालन क्षमताका आधारमा छट पुनरावलोकन हुनेछ । उद्योग सञ्चालनमा आएको मितिदेखि पाँच वर्षसम्मका लागि विद्युत् खपतका आधारमा दुई मेगावाटसम्म खपत भएमा ४० प्रतिशत र त्यसभन्दा बढी खपत भए ५० प्रतिशतसम्म विद्युत् महसुल छुट हुनेछ । यसबाहेक उद्योगस्थलसम्म डेडिकेटेड विद्युत् लाइन विस्तार गरेमा त्यसमा लागेको खर्चको ७५ प्रतिशत खर्च सरकारले व्यहोर्ने छ ।