
अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले खोप लगाउन बाँकी व्यक्तिलाई समयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवं अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारको पहिलो जिम्मेवारी भएको बताए ।
अर्थमन्त्री शर्माले मंगलवार सोही वक्तव्य प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री शर्माले कोभिड महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी नेपाली जनजीवनमा सकारात्मक परिवर्तन र समृद्धि ल्याउनमा वर्तमान सरकारको प्रयास केन्द्रित रहेको स्पष्ट पारे ।
सबै नागरिकलाई खोप दिएर मात्र कोरोना नियन्त्रण हुने स्पष्ट आधार देखिएको भन्दै उनले खोप खरिदका लागि बजेट अभाव हुन नदिने पनि प्रतिबद्धता जनाए । उनले भने, ‘खोप खरिदका लागि म अर्थमन्त्री भएकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेट निकासा गरेको छु । अहिले पनि नियमित छलफलमै छु । जे–जति बजेट लाग्छ त्यो दिन अर्थ मन्त्रालय तयार छ । स्वास्थ्य मन्त्रालयले अनुमति पाइ पनि सकेको छ, सरकारले स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिने छैन ।’
अर्थमन्त्री शर्माले कोभिड महामारीबाट सिर्जित जनस्वास्थ्यमाथिको इतिहासकै गम्भीर संकटपूर्ण अवस्था तथा मुलुकको अर्थतन्त्रले भोगिरहेको प्रतिकूल परिस्थितिकाबीच वर्तमान सरकारले कार्यभार सम्हालेको भन्दै यतिबेला सरकारको पहिलो कर्तव्य नै सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराई जनस्वास्थ्यको रक्षा गर्नु र थप राहत र पुनःस्थपनाका कार्यक्रम एवं नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु रहेको बताए ।