
९ लाख ८९ हजार लुटपाटको आरोपमा २ जना पक्राउ परेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले बिहीवार चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।
तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका–३ का पासलाल तामाङसहित उनका ४ जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बजे नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।
नक्कली पेस्तोल समेत देखाइ कुटपिट गरी नगदसहित महत्त्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नम्बरको मोटरसाइकलसहित बिहीवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घटनामा प्रयोग भएका थप ३ वटा मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट बरामद गरिएको र पक्राउ परेका २ जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरू गरिएको बस्नेतले बताए ।
अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।