
तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा आइतवार प्रवेश गरेपछि अमेरिकाले आफ्ना कूटनीतिकर्मीहरूलाई राजदूतावासबाट हेलिकप्टर चढाएर सुरक्षित स्थानतर्फ लगेको छ ।
अमेरिकी कूटनीतिकर्मीहरूलाई दूतावासबाट विमानस्थलसम्म हेलिकप्टरमा लगिएको हो । दूतावास वजिर अकबर खान भन्ने निकै सुरक्षित स्थानमा छ ।
तालिबान सोचेको भन्दा छिटो काबुल आइपुगेपछि थप अमेरिकी सैनिकहरू पठाएर कूटनीतिकर्मीहरूलाई सुरक्षित स्थानतर्फ लगिएको हो ।
गत साता मात्र अमेरिकाको एक गुप्तचर निकायले काबुल कम्तीमा तीन महिनासम्म अडिग रहने अनुमान गरेको थियो ।
‘अमेरिकी टोलीका मुख्य सदस्यहरू काबुल विमानस्थलमा बसेर काम गरिरहेको एक अमेरिकी अधिकारीले बताए । नेटोका एक अधिकारीले युरोपेली संघका कर्मचारीहरूलाई काबुलकै थप सुरक्षित स्थानमा लगिएको बताए ।
तालिबानका एक अधिकारीले रोयटर्स समाचार संस्थालाई आफूले कुनै हताहती गराउन नचाहेको तर युद्धविरामको घोषणा पनि नगरेको बताए ।