
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भदौ २७ र २८ गते काठमाडौंमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।
यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले विधानको मस्यौदा तयार गरेको थियो ।
संघीयतानुकूल बनाइएको मस्यादौमा पार्टीमा केन्द्रीय कमिटीको संख्या समावेशिताका आधारमा २२५ कायम गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिह्नलाई सूर्यभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने, जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ ।
विधानलाई अन्तिम रूप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव संकलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी/सदस्य, स्थानीय कमिटीका पदाधिकारी/सदस्य, जनसंगठनका केन्द्रीय सदस्य/ जिल्ला पदाधिकारी/सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरेको छ ।
सो पार्टीले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् ।