तालिबानले चोरीको आरोप लागेका एक व्यक्तिको अनुहारमा अलकत्रा दलेर ट्रकमा बाँधेर काबुल शहर घुमाएको छ ।
लडाकूहरू घरघरमा गएर लुटपाट मच्चाउनेलाई समातिरहेका छन् । अमेरिकाको नियन्त्रणमा रहेको विमानस्थल जान चाहने व्यक्तिहरूमाथि उनीहरूले गोली पनि चलाएका छन् ।
आइतवार तालिबानले सत्ता हातमा लिएपछि लुटपाट मच्चिएको थियो । त्यसपछि तालिबान लडाकूहरूले लुटेराहरूलाई घरघरमा गएर बन्दूक तेर्स्याउँदै घिसारेर बाहिर ल्याउँदै भित्तामा अडेस लगाएर उभिन लगाएका छन् ।
कार चोरी गरेको आरोप लागेका एक व्यक्तिको अनुहारमा अलकत्रा दलेको देखिएको थियो । उनलाई ट्रकको पछाडिपट्टि बाँधिएको थियो । हात पछाडि लगेर बाँधिएको थियो । भेला भएका मानिसले उनलाई घुरेर हेरेका थिए र मोबाइलबाट फोटो खिचेका थिए ।