
लुम्बिनी प्रदेश सभाको बुधवारको बैठक स्थगन भएको छ ।
सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेकाले बिहीवारसम्म बैठक स्थगन भएको घोषणा गरे ।
नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली र अजय शाहीलाई पार्टीले कारबाही गरेको र उनीहरूलाई पदमुक्त नगरेकाले प्रदेशसभा स्थगन भएको प्रदेशसभा सदस्य हरि रिजालले जानकारी दिए ।
‘नेकपा एमालेबाट निर्वाचित विमला वली र अजयकुमार शाहीले पार्टीको नीति, निर्देशन र अनुशासन विपरीत कार्यमा संलग्न भएकाले उहाँहरूलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा सञ्चालन गर्न दिइने छैन,’ उनले भने ।
नेकपा एमालेले प्रदेश सभामा नाराबाजी समेत गरेको थियो ।
बैठक शुरू भएलगत्तै नाराबाजी गरेका प्रदेशसभा सदस्यहरू हरि रिजाल, तुल्सी चौधरीले रोस्टमबाटै सभामुख पूर्णबहादुर घर्तीसँग सवालजवाफ गरेका थिए ।
सभामुख घर्तीले यसलाई प्रक्रियामा लैजान प्रतिबद्ध भएको भनेर आश्वस्त पारेका थिए । बैठक मंगलवार पनि स्थगन भएको थियो ।
बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष समयमा बोल्ने, प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नम्बर ५, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट फिर्ता गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काबाट पेश भई निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम थियो ।