
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यका लागि ३० बुँदे आचार संहिता बनाएको छ । प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कुमार खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्री पदमा कायम भइसकेपछि सदस्यले कस्तो आचारसंहिता, अनुशासन, जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने भनेर आचारसंहिता बनाइएकाले सोहीअनुसार सम्पूर्ण मन्त्रीले आचरण गर्ने विश्वास सरकारले लिएको मन्त्री खड्काले बताए ।
सरकारले स्वीकृत गरेको आचारसंहितामा मन्त्रीले कास्की जिल्ला बाहिर जानुपर्दा वा विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुने दान, पुरस्कार वा उपहार सरकारलाई बुझाउनुपर्ने उल्लेख छ ।
यसैगरी मन्त्रिपरिषद्मा वा मन्त्रिपरिषद्का सदस्यका बीचमा भएको वा हुने कुनै विवाद सञ्चार माध्यममार्फत अभिव्यक्त गर्न नहुने र नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै काम कारवाही गर्न नहुने आचारसंहितामा भनिएको छ ।
मुख्यमन्त्रीद्वारा जारी गरिएका हरेक निर्देशनलाई पूर्ण पालना गर्नुपर्ने, मन्त्रालयको काम कारबाहीमा अत्यधिक आर्थिक मितव्ययिता अपनाउनुपर्ने र आफ्m्नो काम कारवाही राष्ट्र र सर्वसाधारणको सेवामा केन्द्रित हुनुपर्ने गरी आचारसंहिता बनाइएको मन्त्री खड्काले जानकारी दिए ।
मन्त्रालयबाट सम्पादन गर्ने हरेक काम कारबाही नेपालको संविधान र कानून बमोजिम आमनागरिकको अपेक्षालाई ध्यानमा राखी गर्नुपर्ने, मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने उल्लेख छ ।
यसैगरी मन्त्री पदमा नियुक्ति भएको मितिले ६० दिनभित्र प्रचलित कानून बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेश गरी सार्वजनिक गर्नुपर्ने र मन्त्रालयमा जाँदा वा औपचारिक रूपमा उपस्थित हुँदा भड्किलो रुपमा प्रस्तुत हुन वा मध्यपान गर्न नहुने आचारसंहिता बनाइएको छ ।