२२ असार २०८३, सोमबार

राजनीतिक हस्तक्षेपले रोकियो प्रहरी लेखापालको सरुवा, नेताका पीएसओहरूका कारण ढिलाइ

भदौ ३, २०७८
राजनीतिक हस्तक्षेपले रोकियो प्रहरी लेखापालको सरुवा, नेताका पीएसओहरूका कारण ढिलाइ
फाइल फोटो

नेपाल प्रहरीका लेखापाल (अकाउन्टेन्ट)हरूको सरुवा आर्थिक वर्ष सकिएको एक महिना पुग्दा पनि हुन सकेको छ । 

सामान्यतया असार मसान्तअगाडि नै लेखापालहरूको सरुवा हुने गरेको थियो ।

नयाँ आर्थिक वर्षको शुरूबाटै हाजिर हुने गरी सरुवा हुँदै आएकोमा यसपालि भने सरकार परिवर्तनको असर सरुवामा परेको छ ।

केपी शर्मा ओलीको सरकारलाई पदच्युत गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लेखापालहरूको सरुवा रोकिएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतलाई आधार मान्ने हो भने ओली सरकारको समयमा तय भइसकेको लिस्ट नयाँ सरकार आउनेबित्तिकै परिर्वन भएपछि सरुवामा समय लागेको छ ।

‘पहिला सेट भइसकेको थियो, तर अहिले नयाँ सरकार आयो, त्यसकारणले समय लाग्ने देखिएको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने ।

सत्तारुढ दलका केही नेताका पीएसओ रहेका प्रहरी अधिकृतले पनि अकाउन्टेन्को तालिम पूरा गरेको र उनीहरूलाई समेट्नका लागि सरुवा रोकिएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

प्रहरीमा एक व्यक्ति ६ वर्षसम्म मात्र लेखापाल हुन पाउने व्यवस्था छ । ६ वर्ष पूरा भएपछि ती लेखापालहरू पदमुक्त भएर अन्य जिम्मेवारीमा फर्किन्छन् भने तालिम पूरा गरेका नयाँ लेखापालहरूले जिम्मेवारी पाउँछन् ।

अहिले नेताका पीएसओ रहेका अधिकृतहरूका कारण सरुवा प्रभावित भएको स्रोतको दाबी छ । ‘नयाँ लेखापालहरू तालिम लिएको १५ दिनमै जिल्ला जान खोजेपछि रोकिएको हो । त्यसलाई आईजीपी सा‘बले मान्नु भएको छैन,’ एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘उहाँहरूलाई एकेडेमिक तालिममा पठाइएको छ । तालिमपछि मात्र सरुवा हुन्छ ।’

प्रहरीमा लेखापालहरू राजनीतिक पहुँचका आधारमा विभिन्न जिल्लामा जाने गर्दछन् । ओली सरकारको समयमा राजनीतिक पहुँच भएका प्रहरीका लेखापाल अहिले राम्रो मानिने जिल्लाबाट आउट भइसकेका छन् भने शेरबहादुर देउवाको सरकार आइसकेपछि नयाँ लेखापालहरू सेट गर्न बालुवाटारदेखि गृहमन्त्रालय समेत लागि परेको स्रोतको दाबी छ ।

यसअघि लेखापाल सरुवामा आर्थिक अनियमितता भएको भन्दै प्रहरीभित्र ठूलै असन्तुष्टि थियो । ‘राजनीतिक पहुँच र पैसा भए मात्रै कमाउने ठाउँमा जान पाइने रहेछ, हाम्रो त कोही थिएन । रोस्टरमा चढेको २ वर्ष समान्य ठाउँमा बित्यो,’ एक लेखापालले लोकान्तरसँग भने ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लेखापालहरूको सरुवा भदौको अन्त्यसम्ममा हुने सम्भावना छ । 

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले केही प्राविधिक कारणले सरुवा रोकिएको बताए । ‘प्राविधिक कारणले रोकिएको हो, केही समयमा सरुवा हुन्छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने ।

पछिल्लो समय प्रहरीमा राजनीतिक हस्तक्षेप चुलिएको भन्दै आलोचना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बित्तिकै ओली सरकारले सरुवा गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा मौखिक निर्देशनमा रोकेका थिए । 

सरुवा भएको १ महिना नाघिसक्दा पनि एआईजीहरूले काज लिएका छैनन् । 

उनीहरूलाई आईजीपी शैलेश थापा क्षेत्रीले मौखिकरूपमा रमाना नलिन भनेपछि सामान प्याक गरेर बसेका एआईजीहरू पनि रोकिएका थिए । 

ओली सरकारले दरबन्दी थप गरेर बढुवा भएका एआईजी सहकुल थापा अहिले फाजिलमा छन् । उनलाई कार्यभारविहीन बनाइएको छ । उनी हरेक दिन प्रहरी प्रधान कार्यालयमा आएर हाजिर गरेर घर फर्किने गरेका छन् । 

यस्तै प्रहरी नायब निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा पनि राजनीतिक प्रभावका आधारमा भएको भन्दै प्रहरीमा तीव्र असन्तुष्टि छ ।

योग्यलाई भन्दा प्रधानमन्त्री तथा गृहमन्त्री निकटका व्यक्तिहरूलाई प्राथमिकता दिएर सरुवा गरिएको आरोप प्रहरीकै अधिकारीहरू लगाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्