
पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।
गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ ।
अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा विक्रम संवत् २०७७ चैत २७ गते पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिप्रका प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिए । ‘हामीले खोजी गरिरहेका छौं, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्ने गरी खोजी भइरहेको छ ।’
यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई १ रुपैयाँ पनि नठगेको जनाउँदै विक्रम संवत् २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैंले तिरिदिएको बताए ।
विक्रम संवत् २०६८ कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेको पनि मल्लको भनाइ छ ।
‘किनेको मान्छेले तिर्न नसकेपछि कानूनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि भन्ने रहेको छ । बा२ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो,’ उनले भने, ‘उसले नतिरे म तिरौंला भनेर नै जमानी बसेको हुँ । बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यसबारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’