
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेपालको नेतृत्वमा प्रस्तावित एमाले (समाजवादी)मा लागेका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।
नेकपा एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले निर्वाचन आयोगमा बुझाएको लिस्टबाट नाम हटाएर पार्टीमा फर्किन आह्वान गरेका हुन् ।
'त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न,' ओलीले भने, 'अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा आउनुस् । काम गरौं । देशको भविष्य बनाउने अभियानमा लागौं।'
अध्यक्ष ओलीले भ्रममा परेकाहरूलाई सम्झाउन पार्टी पंक्तिलाई आह्वान गरे ।
'साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु । यदि कहीँ कतै भ्रममा परेको, अलमलमा परेको साथी भेटिन्छ भने सम्झाउनुस्,' ओलीले भने ।