२८ जेठ २०८३, बिहीबार

भारत सरकारद्वारा उपहारस्वरूप अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारद्वारा उपहारस्वरूप अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरूप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले भारत सरकारको सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए ।

भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे ।

उनले भने, ‘यसले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु । त्यसको अलावा कोभिड १९ नियन्त्रणको लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरू कोभिड १९ का लागि औषधि लगायत धेरै चिजहरू कोभिड १९ नियन्त्रणका लागि ठूलो सहयोग उपलब्ध भएको छ । भारत सरकारप्रति हामी आभारी छौं । आगामी दिनमा पनि अझै सहयोग पाउने अपेक्षा राखेका छौं । आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए हामीलाई सहज हुन्छ ।’

सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको १ महिनाको अवधिमा करीब ५० लाख खोप लगाइसकेको पनि बताए । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि उनले जानकारी दिए । उनले भने, ‘यो सरकार आइसकेपछि हामीले १ महिनाको दौरानमा ५० लाख भ्याक्सिनहरू लगाइसकेका छौं । झण्डै १८ प्रतिशत जनतालाई पहिलो मात्रा लगाएको छ भने दोस्रो मात्रा १३ प्रतिशत जनतालाई लगाएको छ ।’

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘मेडिकल प्रोसेसका लागि अक्सिजन प्लान्ट इन्फास्ट्रक्चरको आवश्यक छ । नेपाल र भारत छिमेकी देश हुन् । नेपाल र भारतले एक अर्कामा निर्भर भएर काम गर्नुपर्छ । कोरोनाको दोस्रो लहरको बेलापनि हामीले केही सहयोग गरेका थियौं र अब पनि गर्नेछौं ।’

राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्