
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले केन्द्रदेखि प्रदेशसम्मका एमालेका सरकार ढलेका बताएका छन् ।
दल विभाजन गरेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले आन्दोलन विभाजित गरिएको बताए ।
‘निरसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्यो । उनीहरूले पार्टीमा हुँडलो मच्चाए । उनीहरूकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौं,’ पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी एकताबद्ध रूपमा पार्टीलाई अघि बढाउनेछौं । नयाँ प्रतिबद्धता र अठोटका साथ उपस्थित भएका छौं । यो ज्यादै खुशीको कुरा हो । हामी ठूलो संख्यामा एकताबद्ध भएर आएका छौं । आगामी विजययात्रा सुनिश्चित गर्न हामी सरिक भएका छौं ।’
केही व्यक्तिहरू जनतासामु गरेका प्रतिबद्धता बिर्सिएर हिँडेका बताए । ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरू आन्दोलनको बाटो छाडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छाडेर, आन्दोलनको अभिभारा बिर्सेर, आफ्नो काँधका जिम्मेवारी बिर्सेर, जनतामा गरेका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका शपथहरू बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेषमा अकारण सैद्धान्तिक मतभेद विना हिँडेका छन्,’ अध्यक्ष ओलीले भने, ‘कसैले लखेटेर, पार्टीमा बस्न नसकेर होइन । सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला केहीका स्वार्थवश, केहीका अहंकारवश, केहीका ईश्यावश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुगेका छन् ।’
एकीकृत समाजवादीका अध्यक्ष मानव नेपालको पदलोलुपबाहेक कुनै उद्देश्य नरहेको आरोप ओलीले लगाए । ‘माधव नेपालको अहंकार र पदलोलुपताबाहेक नयाँ पार्टीको कुनै उद्देश्य छैन । हिजो भएका गल्ती, कमीकमजोरीका लागि तिलतिल खोजेर कुनै व्यवहार र कारबाही गरिने छैन । साथीहरू फर्किनुस्, आज पनि अवसर छ,’ उनले भने, ‘पार्टी बजार जस्तो होइन । बजारमा धेरै मान्छे जम्मा हुन्छन् तर तिनका उद्देश्य फरक हुन्छन्, कोही माछा किन्न, टोपी, सारी किन्न गएका हुन्छन् तर पार्टी त्यस्तो हुन्न एउटै उद्देश्य हुन्छ ।’