
अस्तव्यस्त र भद्रगोलको आरोप खेप्दै आएको सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले यसपटक देखि क्रियाशील सदस्यता व्यवस्थित गर्नको लागि सफ्टवेयर सञ्चालनमा ल्याएको छ । यसअघि अधिवेशनको अघिल्लो दिन मात्र क्रियाशील सदस्यको सूची सार्वजनिक गर्ने प्रचलन रहेकोमा यसपटक सदस्यताको सूची सार्वजनिक भइसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ३८ जिल्लाका क्रियाशील सदस्यको सूची बिहीवार नै कांग्रेसको वेबसाइटमा राखिएको जानकारी दिए । देशका ६ हजार ८४३ वडामा को–को सदस्य बने भन्ने कुरा अब विश्वभरबाट हेर्न सकिने उनले बताए ।
नेपालको अग्रणी लोकतान्त्रिक दल कांग्रेसले पहिलो पटक यसरी व्यवस्थित ढंगले सफ्टवेर निर्माणको काम गरेको हो । महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्कासहितको समितिले इन्जिनियरहरूको सहायतामा सफ्टवेयर बनाएर क्रियाशील सदस्यता वेबसाइटमै राख्ने व्यवस्था गरेको हो ।
‘हाम्रा सदस्यले अधिवेशनको दिनमात्र आफू क्रियाशील सदस्य रहेको थाहा पाउने कुरा थियो, त्यसले पार्टीमा अस्वस्थता निम्ताएको थियो’ कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘अधिवेशनको ३ महिना अगावै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुनु कांग्रेस भित्र यो एकप्रकारको क्रान्ति नै हो ।’
बिहीवार महिला संघको कार्यक्रममा संस्थापन इतरका कांग्रेस नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यता वितरणमा मनलाग्दी भएको बताएका थिए । पार्टी विधानअनुसार क्रियाशील सदस्यताको एउटै मापदण्ड हुनुपर्नेमा सभापतिको मान्छेलाई 'क्राइटेरिया' नचाहिने गरी काम गरेको आरोप लगाएका थिए ।
क्रियाशिल सदस्यताको लागि वडा समितिले गरेको सिफारिश पालिका समिति र पालिका समितिले गरेको सिफारिश जिल्लाले अनुमोदन गरेर केन्द्रमा पठाउने व्यबस्था कांग्रेसको विधानमा उल्लेख छ । यसरी आउने सदस्यको सूचीलाई सभापतिले हस्ताक्षर गरेपछि उनीहरू कांग्रेसको क्रियाशील सदस्य बन्न पाउछन् ।
कांग्रेसका केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले क्रियाशील सदस्यता वितरण पारदर्शी भएको दावी गरे । ‘तीन महिना अगावै क्रियाशील सदस्यताको सूची प्रकाशित भयो, त्यस अनुसार झण्डै १५ हजार उजुरी परे । उजुरी माथि छानविन समितिले टुंगो लगाएर ३८ जिल्लाको सूची प्रकाशित भइसक्यो’ पौडेलले लोकान्तरसँग भने, ‘केन्द्रीय कार्यालयबाट एक जनाको पनि थप घट हुँदैन ।’
कांग्रेस नेतृत्व छान्नका लागि क्रियाशील सदस्यलाई आधारभूत मतदाता मानिन्छ । विगत देखि नै महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद चर्किने गरेको छ । क्रियाशील सदस्यता विवाद कै कारण भदौ १६ देखि गर्ने भनिएको १४ औं महाधिवेशन मंसिरमा हुने भएको छ ।
मंसिर ९ देखि १३ सम्मको लागि तय भएको दशौं महाधिवेशनका लागि यही भदौ १८ गते देशभर वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ ।
संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले टुंगाउन नसकेको विवाद मिलाउन कृष्ण सिटौला, रमेश लेखक र मीनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएकोमा उसले प्रतिवेदन बुझाइसकेको छ ।
तर अहिले कांग्रेसमा अर्को विवाद शुरू भएको छ । जिल्ला सभापतिको उम्मेदवार बन्नको लागि राखिएको मापदण्डको विरोधमा कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा धर्ना चलिरहेको छ ।
प्रतिनिधि सभाको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि बन्नुपर्ने तर एक भन्दा कम निर्वाचन क्षेत्र भएको जिल्लामा बुथ प्रतिनिधि भए पुग्ने व्यवस्थाविरुद्ध पार्टी कार्यालयमा धर्ना चलिरहेको छ । यो धर्नामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइरालालगायतले ऐक्यबद्धता जनाएका थिए ।