
प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
अर्थमन्त्री विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयमा पठाइएको छ ।
'मुख्यमन्त्री ज्युले आफ्नो क्षेत्राधिकारको प्रयोग गर्दै हामी दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नु भएको हो,' साहले लोकान्तरसँग भने ।
मुख्यमन्त्री राउतका स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले पनि मुख्यमन्त्रीले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेको बताएका छन् ।
दुवै मन्त्रीहरू जसपाका हुन् ।
साढे ३ वर्ष देखिको मन्त्रालयभन्दा पनि जिम्मेवारी हेरफेर हुँदा 'परफर्मेन्स'मा झन् राम्रो हुने सोचका साथ् मुख्यमन्त्रीले मन्त्रालयको जिम्मेवारी मात्र हेरफेर गरेको यादवले बताए ।
'जसपाको नेतृत्वमा अहिलेको सरकार रहेको भए पनि ५ दलीय गठबन्धनको आवश्यकताअनुसार सरकारमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर भएको हो,' मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवले भने,'यदि भोलिको दिनमा गठबन्धनलाई आवश्यकता पर्यो भने जसपाकै कुनै मन्त्रीलाई हटाउन समेत सकिन्छ ।'
अर्थ मन्त्रीबाट जिम्मेवारी हेरफेर भएका मन्त्री यादव पछिल्लो केही समयदेखि मुख्यमन्त्री राउतलाई हटाएर आफैं मुख्यमन्त्री बन्नु पर्ने कुराका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसमक्ष लबिङ गर्दै आएका थिए ।
२ नम्बर प्रदेश कमिटीको अध्यक्ष समेत रहेका यादवलाई मुख्यमन्त्री राउतले महत्त्वपूर्ण मानिएको अर्थमन्त्रीबाट हटाएपछि जसपाभित्रको आन्तरिक समीकरणमा समेत समस्या हुने जसपाका एक सांसदले बताए ।
मन्त्री विजय यादवसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर उनी निकट एक नेताका अनुसार मुख्यमन्त्री राउतले गरेको जिम्मेवारी हेरफेरबाट यादव असन्तुष्ट बनेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवकै सहमतिमा राउतले जिम्मेवारी हेरफेर गरेको हुनाले तत्काल उक्त मन्त्रालयको जिम्मेवारी स्वीकार गर्नै पर्ने बाध्यतामा यादव रहेको ती नेताले बताए ।
नेकपा (एकीकृत समाजवादी) लाई समेत सरकारमा भित्र्याउनका लागि मुख्यमन्त्री राउतले दुई वटा मन्त्रालय खाली राखेका छन् । मुख्यमन्त्री राउत निकट एक सांसदका अनुसार कुल ११ वटा मन्त्रलाय रहेकोमा वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय गरी दुई वटा मन्त्रालय खाली राखिएको हो ।
यस अघि साविकको राजपा र सपा मिलेर त्यहाँ सरकार बन्दा कुल ७ वटा मन्त्रालय मात्र थिए । सपाको मुख्यमन्त्री हुँदा सपा र राजपाले समान तीन-तीन वटा मन्त्रालय पाएका थिए । तर पछिल्लो समय पाँच दलीय गठबन्धनको सरकार बनाउनका लागि नेपाली कांग्रेसलाई तीनवटा मन्त्रालय र नेकपा माओवादी केन्द्रलाई १ मन्त्रालय र १ राज्यमन्त्री दिइएको छ ।
७ मन्त्रालयलाई विभाजन गरेर ११ वटा मन्त्रालय बनाइएको छ ।
