
नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) को नेतृत्व छान्न आकस्मिक रूपमा स्थायी कमिटीको बैठक बसेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक राखेर वाईसीएलको नेतृत्वको बारेमा निर्णय गराएका हुन् ।
शनिबारबाट सुरू भएको वाईसीएलको राष्ट्रिय अधिवेशन नेतृत्वमा सहमति जुट्न नसक्दा अझै सम्पन्न भएको छैन ।
सहमतिमै वाईसीएलको नेतृत्व छनौट गर्ने प्रयास असफल भएपछि पार्टीले निर्णय गर्नु परेको माओवादी केन्द्रका एक नेताले बताए ।
वाईसीएलका वर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । सुमन देवकोटा, सुबोध सेर्पाली र यशोदा न्यौपानेले वाईसीएलको अध्यक्ष दाबी गरिरहेका छन् ।
स्थायी कमिटी बैठकले सुमन देवकोटालाई वाईसीएलको अध्यक्ष बनाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
त्यसैगरी, स्थायी कमिटी बैठकमा माओवादीको पदाधिकारीलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको बैठकमा भएको छलफलको बारेमा पनि स्थायी कमिटीलाई ब्रिफिङ गरेका थिए ।