
संघीय संसदको आठौं अधिवेशन अन्त्य भएको २३ दिनपछि आज नवौँ अधिवेशन शुरू भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजेका लागि संघीय संसद्को बैठक आह्वान गरेकी थिइन् ।
अघिल्लो अधिवेशनमा जुन दलबाट सांसदले संसदमा प्रतिनिधित्व गरेका थिए नवौं अधिवेशनमा आइपुग्दा उनीहरू सोही दलका सांसद रहेनन् ।
नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा २९ जना सांसद आबद्ध भएका छन् । त्यसमध्ये २३ जना प्रतिनिधि सभाका छन् भने ७ जना राष्ट्रिय सभाका छन् ।
त्यसै गरी जनता समाजवादी पार्टीमा रहेका १४ जना सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को तर्फबाट संसद बैठकमा सहभागी भए । त्यसमध्ये १२ जना प्रतिनिधि सभाका सदस्य छन् भने २ जना राष्ट्रिय सभाका सदस्य छन् । लोसपाको पक्षमा रहेका रेशम चौधरी भने सांसदबाट निलम्बित छन् ।
दुवै सदनमा गरेर एमालेको २९ र लोसपाको १४ गरी ४३ जना सांसद संघीय संसदको नवौँ अधिवेशनमा नयाँ दलको हैसियतमा सहभागी भएका छन् ।
प्रतिनिधि सभाको बैठकमा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको लागि सत्ता पक्षको लहरका कुर्सीको व्यवस्था गरिएको थियो ।