
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक( २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् ।
संसदमा पेश भएको बजेटमा चालु खर्चतर्फको भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च लगायत शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौति गरेका छन् । यसरी खर्च कटौति गर्दा तत्काल बचत हुने ५ अर्ब रुपैयाँ कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि उपयोग गरिने भएको छ ।
यस्तै मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई उपचार खर्चवापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको परिवारका लागि जीवनवृत्ति वापत मासिक ३ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।