
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति कायम गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदानसम्बन्धी सम्झौतालार्ई अगाडि बढाउने बताएका छन् ।
शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुुवाटार पुगेकी एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी कार्यान्वयनका लागि राजनीतिक सहमति आवश्यक रहेकाले सोहीअनुसार सरकार अगाडि बढ्ने बताए ।
प्रधानमन्त्रीले राजनीतिक सहमतिलाई जोड दिएका कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । भेट सकारात्मक रहेको जनाउँदै प्रधानमन्त्री देउवाले ट्विटरमार्फत नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा विविध साझेदारीका बारेमा छलफल भएको जनाए ।
भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोगलगायतका विषयमा पनि गहन छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौताअगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको जानकारी गराएका थिए ।
एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सम्झौता नेपालको संसद्बाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने दाबी गरेका अर्थ मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । सो भेटवार्तामा एमसीसीका सहअध्यक्ष जोनाथन बु्रक्स, नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीलगायत एमसीसीका उच्च अधिकारी सहभागी रहेका थिए ।
यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको अमेरिकी प्रतिनिधिमण्डलले एमसीसीलाई सकारात्मक रूपमा बुझेर अगाडि बढाउन आग्रह गरेको छ ।
शुक्रवार प्रचण्डसँग उहाँकै निवासमा भेट गर्न पुगेकी सुमारले बाहिर हल्ला भएजस्तो विषयवस्तु एमसीसी नभएको प्रस्ट पारिन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारीअनुसार नेपालमा आफूहरू अन्यथाभन्दा पनि एमसीसीको बारेमा अन्तर्क्रियात्मक गर्नकै लागि आएको र नेपालका राजनीतिक दलहरूले यसलाई सकारात्मक ढंगले लिएर यसका लागि वातावरण बनाउनेमा आफू विश्वस्त रहेको धारणा सुमारले राखेकी छन् ।
अन्तर्क्रियात्मक ढंगमा भएको छलफलका क्रममा जवाफ दिँदै अध्यक्ष प्रचण्डले एमसीसी अहिले नेपालमा बहसको विषय रहेको प्रस्ट्याए । ‘त्यसो हुँदा यसलाई सहमति बनाएरै अगाडि बढ्दा नेपाल, अमेरिका दुवै देश र एमसीसी परियोजनालाई पनि फाइदा हुन्छ,’ प्रचण्डको भनाइ उदृत गर्दै सापकोटाले भने ।
शुक्रवार नै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसमक्ष एमसीसी उपाध्यक्ष सुमारले भेटवार्ता गरिन् । भेटमा नेपालमा ऊर्जा, सम्पर्क सञ्जाल तथा त्यसका लागि आवश्यक पूर्वाधार निर्माण अमेरिकी अनुदान सहयोगी हुनुका साथै गरीबी न्यूनीकरण एवं दीगो विकासका लागि एमसीसी सहायक हुनसक्ने धारणा सुमारले व्यक्त गरेकी थिइन् ।
मन्त्री भुसालले २ देशबीचको आपसी सम्बन्धको चर्चा गर्दै एमसीसीको सवालमा जनचाहना रराजनीतिक सहमति अपरिहार्य रहेको औंल्याएका थिए ।
भेटवार्तामा एमसीसीका सम्बन्धमा दुवै पक्षले सकारात्मक पक्षहरूका बारेमा छलफल गरेका मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए । उनका अनुसार सकारात्मक पक्षहरूका बारेमा जनतालाई बुझाएर अनि साझा समझदारीमा अघि बढ्न सकिने विश्वास ऊर्जा मन्त्री र सुमार दुवैले व्यक्त गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।