०७ असार २०८३, आइतबार

जसले पूर्व युवराज दीपेन्द्रले चढ्ने गाडी उपहार पाए

कात्तिक २०, २०७४
जसले पूर्व युवराज दीपेन्द्रले चढ्ने गाडी उपहार पाए

राजेन्द्र खड्गीको नाम सुन्यो भने पनि डराउँथे मान्छे कुनैबेला । उनको चलचित्रमा देखिने रुप र उनले निभाउने भूमिकाले उनीप्रति मान्छेहरु कहिल्यै पनि सकारात्मक हुन सकेनन् होला ।

फेरि हल्ला पनि बजारमा त्यस्तै थियो, ‘हातले मुक्का हानेर राँगो ढाल्छ खड्गीले ।’ हुन पनि २०३५–३६ सालमा हेटौंडाको नामुद गुण्डा नै थिए उनी । बाबुराजा दादाको नामले चिनिने खड्गीले अन्याय कहिल्यै सहेनन् । अन्यायमा परेकाहरुलाई सहयोग गर्दा उनी दादा भए उसताका ।

हुनेखाने परिवारमा जन्मेका उनी पेशाले मासु व्यापारी थिए । सयौं नेपाली चलचित्रमा खलनायकको रुपमा प्रस्तुत भएका खड्गीले करिव ५ सय नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रुपमा काम गरे ।

कुनै जमाना थियो राजेश हमाल हिरो, शम्भुजित बास्कोटा संगीतकार र राजेन्द्र खड्गी द्वन्द्व निर्देशक । यो संयोजनका धेरै चलचित्र हे¥यो एउटा पुस्ताले । ५० को दशकमा अत्यन्तै चर्चामा रहेका खड्गी हेर्दा जस्ता देखिन्छन्, व्यवहारमा भने अत्यन्तै मिलनसार छन् । एकबार बाँच्ने जीवन हो भन्ने कुरा राम्रोसँग बुझेका उनी कसैको कुभलो चिताउँदैनन् र गर्दैनन् पनि ।

केही चलचित्रको निर्माण र पाउलोनीया जातको रुखविरुवाको व्यवसायिक खेतीमा व्यस्त खड्गीका तीन पुस्ताले नै चलचित्रमा काम गरिसकेका छन् ।

उनका छोरी र नातिले समेत चलचित्रमा अभिनय गरेका छन् । आफ्ना गुरु ओयामोको बारेमा वृत्तचित्र समेत निर्माण गर्न लागेका उनले गोपाल भुटानीको समेत योगदानको कदर गर्दै गुरुदक्षिणवापत उनको मुर्ति बनाउने परियोजनामा व्यस्त छन् । खड्गी २०१८ सालमा सिद्धीलाल र अष्टमायाका कोखबाट जन्मेका हुन् ।

लोकान्तरको एक आग्रहमै भनेकै समयमा कार्यालय आइपुगेका ५६ वर्षे ‘तन्नेरी’को लवाई हेर्दा लाग्थ्यो, उमेरले मान्छेलाई केही कुरा छेक्दैन । करिव २० तोला सुनका गहना, शरिरभरी टाटु , लामो कालो रंग्याइएको कपाल र कालो चस्मामा उनको हुलिया खुलेको थियो । लोकान्तरको कार्यालयमा छिर्नेबित्तिकै पुरानो चिनजान जसरी संवाददातासँग प्रस्तुत भएका खड्गीलाई स्वागत गरेपछि उनले एक ग्लास कागती पानी खाए नुन राखेर । उनको खलनायकी यात्राका बारेमा उनीसँग एक घण्टा लामो कुराकानी भयो । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

२०४० सालतिर हेटौंडामा क्युकोसिन कराँते सिकाउँथेँ । विश्वास भन्ने चलचित्रमा कराँते जान्ने गुरुहरुको लागि सुवर्ण अवसर भनेर सन्ध्याकालिन पत्रिकामा विज्ञापन आयो । मलाई आफू यसमा फिट हुन्छु जस्तो लाग्यो । बलराज भन्ने मेरो चेलाले गोपाल भुटानीलाई भेटाइदिन्छु भन्यो र भेटायो पनि । यो एउटा संयोग नै थियो, पत्रिकामा विज्ञापन आउनु र मैले मेरो चेलोलाई भेट्नु ।

गोपाल भुटानीलाई पनि तनाब भइरहेको रहेछ । उहाँलाई जुडो, बक्सिङ आउने तर कराँते नआउने । चलचित्रमा दुईवटा द्वन्द्वका दृष्य छायाँकन भइसकेको रहेछ । बाँकी दृष्यको लागि निर्माताले अर्को मान्छे खोज्नुपर्यो भनेपछि उहाँले खोज्न अनुमति दिनुभएको रहेछ । गुरुबा (गोपाल भुटानी)लाई पनि एउटा चेलो चाहिएको रहेछ । उहाँलाई भेटेपछि मैले आफूले जानेको सबै कला देखाएँ । मार्सलआर्टको सबै कुरा देखाएँ । त्यतिबेला म ब्रुस्लीको फ्यान थिएँ । मेरो कलामा पनि बु्रस्लीको छाप देखिन्थ्यो ।

६ महिना काम गरेको २५० रुपैयाँ ज्याला
चलचित्र संस्थानमै गएर मैले शो गरेको हुँ । उहाँलाई मन परेछ । त्यसपछि मलाई चेतन कार्कीसँग भेट गराइयो । उहाँले २ ३ वटा प्रश्न गर्नुभयो । चेतन कार्कीले खुशी भएर हुन्छ भन्नुभयो । विश्वासमा काम गर्न मलाई ६ महिना लाग्यो । चलचित्र संस्थानका कर्मचारीले चलचित्र जतिसक्दो ढिलो बनाउने रहेछन् किनभने उनीहरुले नियमित तलव भन्दा बाहेक भत्ता पाउने रहेछन् चलचित्र बनेको समयमा ।

छ महिना पछि मलाई जीवन दाइले २५० रुपैयाँ दिनुभयो जवकि मैले त्यतिखेर ९ सय रुपैयाँ खर्च गरिसकेको थिएँ काठमाडौं बस्दा । मैले यो त भएन भन्दा जीवन दाईले भाइ यो त तिम्रो लागि गुड लक हो अरु केही पनि नसम्झ भन्नुभयो । त्यो पैसा मैले मेरो सहायक चिनकाजीलाई एक सय दिएँ, श्रीमतीलाई सय दिएँ र पचास रुपैयाँ आफूसँग राखेँ ।

शिव श्रेष्ठ रियल हिरो
नेपालमा पाकिस्तानी चलचित्रहरु बन्न थाले । नेपाली चलचित्रलाई यो स्थानमा ल्याउन शिव श्रेष्ठ दाइको भूमिका ठूलो छ । उहाँले नै पाकिस्तानी चलचित्र यहाँ भित्र्याउनुभएको हो । शिव दाइ त्यतिखेर पाकिस्तानी चलचित्रमा स्थापित भइसक्नु भएको थियो । चलचित्र संस्थानले २ ३ वर्षमा बल्ल एउटा चलचित्र बनाउँथ्यो ।

त्यतिले हामीलाई काम नै पुग्दैनथ्यो । मैले पनि पाकिस्तानी चलचित्रमा काम गर्न थाले द्वन्द्वको लागि । धेरै नेपालीले पाकिस्तानी चलचित्रको कारण काम पाएका थिए । नाच्ने, द्वन्द्व कलाकारहरु, प्राविधिकहरु नेपाली हुन्थे त्यतिखेर पाकिस्तानी चलचित्रमा । चलचित्र संस्थानमा जम्मा ३ ४ जना प्राविधिक थिए तर पाकिस्तानी चलचित्रका कारण नेपालमा धेरै प्राविधिक बने ।

गिनिज बुकमा नाम लेखाए हुन्छ मेरो
त्यतिखेर हामी दिनको ५० रुपैयाँमा काम गथ्र्यौँ । पाकिस्तानीहरु हराउँदै गए । हामी आफैंले पनि चलचित्रहरु बनाउन थाल्यौं । त्यतिखेर त भारतीयहरु पनि नेपालमा छायाँकन गर्न आउँथे । मैले पनि ५-६ वटा हिन्दी चलचित्रमा काम गरेको छु । अहिलेसम्म म नै हुँला संसारमै सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गर्ने । गिनिज बुक अफ वल्र्ड रेकर्डमै राखे हुन्छ मेरो नाम । तर के गर्नु नेपालमा कदर छैन । मैले काम गर्ने समयमा कुनै पनि निर्माता घाटामा गएनन् । सबैले राम्रो कमाइ गर्थे । जुन चलचित्र बने पनि हिट हुन्थ्यो ।

नेपालमा राजदरवार हत्याकाण्डभन्दा अगाडि एकदमै राम्रो समय थियो चलचित्रको लागि । चलचित्रमा डिजिटल प्रविधी भित्रिएपछि यो उद्योग धरापमा पर्यो । प्रविधिको विकासले नेपाली चलचित्र उद्योग धरासायी बन्यो । राजनीतिक कारणले पनि पनि असर गर्यो । द्वन्द्वका कारण नेपालमा चलचित्र बनाउनै कठिन भयो । नेपाली युवाहरु विदेश पलायन भए त्यसकारण दर्शक घटे ।

दादा बनाउन दिदीहरुको हात

बच्चा बेलामा म एकदम सोझो थिएँ । दुव्लो पातलो शरिरको थिएँ । मलाई दिदीहरुले एकदमै हेरचाह गर्नुहुन्थ्यो । साथीहरु एकदम चुलबुले थिए । म शान्त भएकोले सधैं गोदाइ खान्थेँ । दिदीहरुले मलाई नै गाली गर्थे । मलाई यस्तो बनाएको मेरो दिदीहरुले नै हो । हुन त म अहिले पनि त्यस्तो खराव छैन । मलाई सबै बराबर हो जस्तो लाग्छ । एकदिन मरेर जानु पर्छ सबैले ।

हुन त म हेटौंडाको जमिनदारको छोरा हुँ । हेटौंडा बजार नै मेरो बुबाले स्थापना गर्नु भएको हो । उहाँले धेरै संघर्ष गर्नुभएको छ हेटौंडामा । मेरो बुबा जुद्ध सम्शेरको आठ पहरीयामध्येको एक हो । औलोको कारण ३ महिना मात्र त्यहाँ बसोवास हुुन्थ्यो रे ।

मैले ३४ सालमा एसएलसी पास गरेको हुँ । हेटौंडामा नै क्याम्पस पढें । मैले कमर्श पढेको हुँ । हेटौंडामा रात्री पढाइ शुरु गरेको नै मैले हो । तर बीचमा एकपटक फि बढाएको निहुँमा क्याम्पस बन्द हुन आँट्यो । अनि मलाई क्याम्पस प्रमुखले बोलाएर राजेन्द्र बाबु क्याम्पस त बन्द गर्न लागे विद्यार्थीले भन्नुभयो । मैले साथीहरुलाई सम्झाएँ । म त साहुको छोरो मैले पढ्नु पर्दैन तिमीहरुलाई नै सजिलो हुने हो भनेर मैले हड्ताल गर्ने केटाहरुलाई ड्याङ कि ड्याङ कुटें । जे होस् मकवानपुर क्याम्पस अहिलेसम्म चलेको छ । 

दुव्लोलाई मोटोले कुट्दा रिस उठ्थ्यो
मैले दुव्लोलाई मोटोले कुटेको कहिल्यै पनि सहिनँ । मलाई सबै मान्छे बरावर लाग्छ । एक रुपैयाँ हुने पनि एक रुपैयाँको साहु हो भने सय रुपैयाँ हुने सय रुपैयाँको साहु हो । आँखामा धुलो पर्यो भने जस्लाई पनि बिझाउँछ । त्यसैले कोही ठूलो सानो हुँदैन भन्ने मेरो मान्यता हो । म डन होइन । अन्यायमा परेको मान्छे राती १२ वजे पनि मलाई गुहार्दै आउँथे । मेरो अगाडि कसैले केही गर्न सक्दैनथ्यो । प्रशासनले गर्न नसक्ने काम पनि म गर्थें ।

एकपटक त मलाई पुलिसले थुन्यो पनि । सहबीर थापा डिएसपी हुनुहुन्थ्यो त्यतिखेर । एक हप्ता थुनामा परेपछि कमल थापाले छुटाउनुभएको हो मलाई । चलचित्रमा प्रबेश गरेपछि मैले दादागीरी छोडें । झगडा गर्दा सिकेका कुरा मैले चलचित्रमा पनि लागु गरें ।

मलाई यो स्थानमा पुर्याउन सहवीर थापाको पनि हात छ । उहाँले मलाई नसमातेको भए म हेटौंडामा नै रुमल्लिरहेको हुन्थेँ । २५ वर्षपछि मलाई सम्मान गरिएको थियो त्यतिबेला सहवीर थापा पनि आउनु भएको थियो । त्यतिबेला मैले यो कुरा भाषणमा भनिदिएँ ।

खुट्टामा स्टिल राखिएको छ
चलचित्रमा काम गर्दा मैले धेरै दुःख गरेको छु । दुर्घटनामा परिन्थ्यो कतिपटक त । अहिले पनि मेरो खुट्टामा स्टिल राखिएको छ । मैले चलचित्रमा नयाँ प्रयोग गर्ने गरेको थिएँ ।

मैले पनि ब्रुस्लीलाई भेटेर सिकेको होइन, हेरेको भरमा हो । मैले गर्ने चलचित्रका फाइट सिन हेरेर अरुले पनि सिकुन् भन्ने लाग्छ मलाई । कहाँ हान्दा कहाँ लाग्छ र के असर गर्छ भन्ने सोचेर मैले काम गर्थें । फाइट पनि जिवन्त हुनुपर्छ ।

नेपालको त म एकमात्र द्वन्द्व निर्देशक थिएँ कुनैबेला । भारतमा जाँदा मलाई हेर्न आउँथे मान्छेहरु । भारतमै बस भन्ने अफर पनि आउँथ्यो तर मलाई नेपालमै काम गर्न मन लाग्थ्यो । हुन त मैले भारतीय फिल्ममा नगरेको होइन । भोजपुरी चलचित्रमा त मैले फाइटको चलनलाई नै अर्कै गराइदिएँ ।

अहिले हामी पुराना पुस्ता कोही पनि यो क्षेत्रमा छैनन् । पाइरेसीले यो क्षेत्रलाई तहसनहस गराइदियो । चलचित्र प्रायः फ्ल्प भइरहेका छन् । निर्माताले उल्टो पैसा तिर्नुपर्ने स्थिती छ । अहिले म थोरै मात्र फिल्ममा काम गर्छु ।

दरवारले दियो मोटर
मैले मेरो कपाल, गलाको सिक्रि र शरिर त मैले विगार्नै हुँदैन । मेरो परिचय नै यसैमा छ । १९ /२० तोला जति सुन छ मेरो शरिरमा । गोजीमा १० १५ हजार राख्छु, एटिएम पनि छ । मैले चढ्ने गाडी किनेको होइन । राजाले उपहार दिएको गाडि हो यो । बा ३ च ४ ५७७३ नम्बरको मेरो गाडि पहिले पूर्व युवराज दिपेन्द्रले चढ्थे । शाही कालमा मन्त्रीपरिषद्का उपाध्यक्ष तुलसी गिरीले चढ्थे । त्यतिबेला मेरो खुट्टा भाँचिएको थियो । मैले गाडिको खोजी गरिरहेको थिएँ ।

शिव श्रेष्ठ दाइले यो गाडीको बारेमा कुरा गर्नुभयो । तुलसी गिरीसँग शिव दाइले नै चिनाइदिएपछि मैले उहाँसँग गाडी मागेँ । उहाँले दिन मिल्दैन मलाई पनि राजाले उपहार दिएको भन्नुभयो । मैले मेरो खुट्टा भाँचिएर समस्या परेको बताएँ ।

टेलिभिजनमा पनि मेरो दुर्घटनाको समाचार आइरहेको थियो । मैले कर गरेपछि तुलसी गिरीले पूर्वराजा ज्ञानेन्द्रलाई सोध्नुभएछ । राजाले पनि बेच्न चाहिँ नबेच्नु राजेन्द्र बाबुलाई दिनु भन्नुभएको रहेछ । यसरी यो मैले चढेको गाडी पाएको हुँ उपहारमा ।

हामी दलित होइनौं,शुरवीर हौं

मलाई संसारमा दुईवटा मात्र जात छ भन्ने लाग्छ । कोही दलित र माथिल्लो जाति भन्ने हुँदैन । मान्छेलाई दलित भन्ने चलनमा पनि कारण छ । जस्तो हामी खड्गीहरु मासुको काम गर्छौं ।

जीउभरि रगतै रगत लत्पतिएको हुन्छ । हामी त शुरबीर हौं । काटमार गर्न जोकोहीले सक्दैन । कसैले नसकेको काम हामीले गरेर मान्छेलाई बचाइरहेका छौं । खड्गीहरु दह्रो मुटु भएका मान्छे हुन् । एउटा ज्यान मारेर सय जना अघाउँछ भने त्यसमा पाप हुँदैन भन्ने त शास्त्रमा पनि लेखिएको छ ।

राँगा कस्ले मार्ने ? हामीले नै मार्ने । रगत लत्पतिएको हुँदा त्यसमा जीवाणुहरु पनि हुन्छ । हामी काम गर्नेलाई यो सबै पचिसकेको हुन्छ । तर अरु मान्छेलाई यो कुरा घिन लाग्छ, गनाउँछ । त्यसैले मानिसहरुले हामीलाई दलितको रुपमा व्यवहार गर्थे । चिया पसलमा आफूले खाएको ग्लास आफैं माझ्नुपर्ने यस्तो छुवाछुत थियो ।

मैले नै कतिपल्ट ग्लास माझ्न लाउँदा ग्लाँस नै फ्याँकिदिएको छु । बरु ग्लासको पैसा तिर्थें ।
दमाईँ, कामी सबै परिश्रम गर्ने जात हो । पसिना धेरै आउने कारणले उनीहरुको जीउबाट गन्ध आउँथ्यो त्यसैले कथित माथिल्लो जातले उनीहरुलाई हेपेको हो । उनीहरु नुहाउँदैनथे । तर बाहुनहरु त दिनदिनै नुहाउँने । बाहुनहरुलाई राम्रो कुराहरु थाह थियो । मलाई म खड्गी भनेर कसैले भन्यो म त आफ्नो जातप्रति गर्व गर्छु । तर अहिले कसैलाई कसाइ वा दमाइ कामी भन्यो भने रिसाउँछन् तर मलाई रिस उठ्दैन । राजनीति गर्नेहरुले जातपातको कुरा गरेको हो ।

मैले त राजाहरुसँग बसेर पनि खाना खाएको छु । राजामती चलचित्र आउँदा एकपटक नीर शाहले दरवार जाउँ भन्नुभयो । नेवारी भाषाको चलचित्रमा भाषाको समस्या आउला भनेर नीर शाहले मलाई लानु भएको थियो । हामी वीरेन्द्र राजासँगै बसेर खाना खायौं ।

एकपटक गीरिजाबाबु खड्गी समाजले मलाई सम्मान गरेको कार्यक्रममा आएर आफू पनि आधा खडगी भएको बताउँदा सबैले ताली पिटेका थिए ।

कुरा के रहेछ भने उनी लुकेर राजनीति गर्ने बेलामा खड्गीको घरमा लुकेर बसेका रहेछन् ६ महिना । अहिले यो जातपातको कुरा सब बेकार हो । सबैले उद्यम गरौं । पैसा कमाऔं । कसैले कसैको बारेमा नराम्रो कुरा गर्नै पर्दैन । मैले १३ विगाहमा पाउलोनिया रोपेको छु । सबैले नगदे वाली लगाउने हो भने देश विकास हुन बेर लाग्दैन । मरेर जाने जीवन हो केही गरेर मात्र मर्नु पर्छ । मैले जानेको त्यत्ति हो ।

salt training

कमेन्ट गर्नुहोस्